काठमाडौं, २८ चैत । दुई वर्ष अगाडी आफ्नै हाकिमबाट यौन शोषणमा परेकी नेपाल प्रहरीकी हवल्दार सुन्तली धामीले पूरानो घाउ कोट्याउन नचाहेको बताएकी छिन् ।
आजको अन्नपूर्ण पोष्टमा उनीसँग गरिएको कुराकानी छापिए अनुसार उनले पूरानो घाउलाई बल्झाएर मनमा र मानसिक तनावको सिकार हुन नचाहेको बताईन् । उनीसँग गरिएको कुराकानी यसप्रकार छ ।
मैले पत्रपत्रिका र अनलाइनबाट मेरो कथामा चलचित्र बन्दैछ भन्ने थाहा पाएँ । एक वर्षअघि मलाई फोन आएको थियो । म अफिसमा थिएँ ।
मलाई फोन गरेर चलचित्रको बारेमा कुराकानी गर्नुछ भन्नुभएको थियो । मैले सोचेर जवाफ दिन्छु भनेकी थिएँ । त्यसपछि उहाँहरूसँग केही कुराकानी भएन । केही समयपछिदेखि सुन्तली धामीको कथामा चलचित्र बन्दैछ भनेर समाचार आउन थाल्यो। मलाई त अचम्म लाग्यो ।
मेरो कथाव्यथा उहाँहरूलाई कसरी थाहा भयो ? त्यो त मलाई मात्र थाहा छ । समाचार आउन थालेपछि मानिसले कुरा काट्न थालेको थाहा पाएँ ।
कतिले त सुन्तलीले पैसा खाएर आफ्नो कथा बेचीसम्म भने । मलाई दुःख लाग्यो मैले पाएको पीडाले अहिलेसम्म मलाई तनाव भइरहेको छ ।
चलचित्रको कुराले मलाई थप तनाव भयो । उहाँहरूसँग कुराकानी भएको थियो भने म पनि केही बोल्न सक्थेँ होला । कम्तिमा मलाई सोधेर बनाएको भए हुन्थ्यो । मलाई चलचित्र हेरेर घाउ कोट्याउन मन छैन। तर म चलचित्रको विरोध पनि गर्दिनँ ।















प्रतिक्रिया