बागलुङ, २७ चैत । बागलुङमा शनिबार भइरहेको उपनिर्वाचनमा पैसाको समेत ठूलै चलखेल भएको खुलासा भएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ९ स्थित दलित बस्तीमा पैसाको आश्वासनमा भोट खरिद गर्न पुगेका गायक रामजी नेपालीलाई नेकपा एमालेका युवाहरुले कुटेका हुन् । घाइते नेपालीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।
काँग्रेस उम्मदेवार चम्पादेवी खड्कालाई भोट हालेमा प्रतिघर दुई हजार रुपैंया दिने आश्वासन दिइरहेको बेला एमाले कार्यकर्ताले प्रतिकार गरेको नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपालीले दैनिक नेपाललाई जानकारी दिए ।
एमालेबाट आफ्नो कार्यकर्ता कुटिएको भन्दै काँग्रेसले शुक्रबार बेलुकी बागलुङ बजारमा जुलुस निकालेको छ । घटनामा संलग्न पाँच जना एमाले कार्यकर्तालाई पक्राउ गर्नुपर्ने काँग्रेसको माग छ । काँग्रेसले नेकपा एमालेको सम्पर्क कार्यालयमा घेराउ गरेपछि केहीबेर झडपको स्थिति बनेको थियो ।
त्यसलगत्तै नेकपा एमालेले पनि बागलुङ बजारमा जुलुस निकाल्यो । पैसामा भोट खरिद गर्न खोज्ने काँग्रेस कार्यकर्तालाई पक्राउ गर्नुपर्ने एमालेको माग थियो ।
स्थानीय प्रशासनले काँग्रेस र एमालेका प्रदर्शनकारीलाई सम्झाएर पठाएपछि स्थिति सामान्य बनेको छ ।













प्रतिक्रिया