१३ कार्तिक २०८३, शुक्रबार

बागलुङ उपनिर्वाचिनमा नयाँ समीकरण: एमाले उम्मेदवारलाई राष्ट्रिय जनमोर्चाको समर्थन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baglung-election1

काठमाडौँ, २७ चैत । शनिबार बागलुङमा हुन लागेको संविधानसभा उपनिर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई राष्ट्रिय जनमोर्चाले सघाउने भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरुको आग्रहपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले उम्मेदवारलाई सघाउने मनस्थिति बनाएको एमाले स्रोतले जनायो । एमाले अध्यक्ष ओली र उपाध्यक्ष गौतमले टेलिफोनमार्फत आफ्नो उम्मेदवारलाई सघाउन केसीलाई आग्रह गरेका थिए ।

एमाले उम्मेदवारलाई प्रत्यक्षतर्फ जनमोर्चाले सघाउने आश्वासन मिलेको एमाले स्रोतले जनाएको छ । जनमोर्चाले गत संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट प्रत्यक्षतर्फ २१ सय र समानुपातिकतर्फ २९ सय मत ल्याएको थियो । आफ्नो उम्मेदवारले जित्न नसक्ने भएकाले वाम उम्मेदवारलाई जिताउन जनमोर्चाले एमालेलाई सघाउन लागेको हो ।

नेपाली काँग्रेसबाट सभासद् बनेका हरिबहादुर खड्काको सडक दुर्घटनामा मृत्यु भएपछि बागलुङ १ मा शनिबार उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा काँग्रेसले हरिबहादुरकै पत्नी चम्पालाई उम्मेदवार बनाएको छ । यसैगरी, एमालेले नेतृ मना केसीलाई उम्मेदवार बनाएको छ । एमाओवादीले जापानमा बसोबास गर्दै आएका कृष्ण केसीलाई उम्मेदवार बनाएको छ

यस्तो छ एमाले विश्लेषण

नेकपा एमालेले बागलुङको उपनिर्वाचनका लागि पार्टीको सम्पूर्ण शक्ति नै लगाएको छ ।

एमाले प्रचार विभागका उपप्रमुख एवं केन्द्रीय सदस्य सूर्य थापाका अनुसार, पार्टीको निर्देशनमा एमालेका सचिव गोकर्ण विष्ट बागलुङमै बसेर निर्वाचन कार्यक्रम तथा कार्यकर्ता परिचालन गरिरहेका छन् । एमालेले काँग्रेसँगै मुख्य प्रतिस्पर्धा हुने निष्कर्ष निकालेको केन्द्रीय सदस्य थापाले जानकारी दिए ।

एमाओवादी उम्मेदवारले अघिल्लो निर्वाचनमा ६ हजार मत ल्याए पनि यसपटक ३ हजारमात्र मत ल्याउने र त्यसमध्ये अधिकांश मत आफ्नो पार्टीलाई आउने रिपोर्टिङ प्राप्त भएको थापाको भनाइ छ । जनमोर्चा समेतको साथ भएकाले आफ्नो उम्मेदवारका लागि सहज जिते हुने विश्लेषण गरिएको थापाले दैनिक नेपाललाई बताए ।

यद्यपि नेपाली काँग्रेसले पनि आफ्नो उम्मेदवारले एक हजारको अन्तरमा चुनाव जित्ने दाबी गर्दै आएको छ ।
यो पनि पढ्नुहोस्:
बागलुङको उपनिर्वाचनमा कस्ले जित्ला ? यस्तो छ रोमाञ्चक प्रतिस्पर्धा