काठमाडौँ, २७ चैत । सरकारले काठमाडौँको गोकर्णमा निर्माण गरिरहेको राष्ट्रिय सहिद पार्कअन्तर्गत रहने गरी आठ सहायक पार्कको निर्माण गर्ने भएको छ ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयले यससम्बन्धी अध्ययन गराई गुरुयोजना निर्माण गर्न रु ६५ लाख बजेट छुट्याएको आज गोकर्णमा आयोजित यज्ञडोल सामुदायिक वनको साधारण सभाका अवसरमा जानकारी गराइएको छ ।
यज्ञडोल सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा पार्क निर्माण गर्नेबारेमा २०६४ जेठ ११ गतेको मन्त्रिपरिषद् बैठकबाट गरेको थियो । पार्कलाई सबै राजनीतिक परिवर्तनमा योगदान पु¥याउने सबै सहिदको सम्झनामा स्मारक बनाउन अन्य आठ वनमा सहायक पार्क निर्माणको गुरुयोजना बनाउन लागेको नेकपा (एमाले) का सभासद् रामेश्वर फुयालले बताउनुभयो ।
“काठमाडौँको गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकामा पर्ने गाम्चा, पुतलीडाँडा, गुठ सल्लाघारी, रातमाटा, पञ्चकन्या, आहालडाँडा चिहानडाँडा, डुकुर्नी र दिदी बहिनी गरी आठ सामुदायिक वनमा सहायक पार्क निर्माणका लागि गुरुयोजना बनाउने काम सुरु भएको छ”– मन्त्रालयले बनाएको अध्ययन कार्यदलको संयोजक समेत रहनुभएका सभासद् फुयाँलले भन्नुभयो ।
पार्कका अध्यक्ष सुदर्शन सिग्देलले सामुदायिक वनमा पार्कको अवधारणा तयार पारी पर्यापर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने योजनामा पार्क अगाडि बढ्न लागेको बताउनुभयो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र तिवारी, जिल्ला वन कार्यालय काठमाडौँका सहायक वन अधिकृत अरुणकुमार गुप्ता र पार्कका कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठलगायतले पार्कका माध्यमबाट काठमाडौँको उत्तरपूर्वी क्षेत्रकै पर्यटन विकासमा सहयोग पुग्नेमा जोड दिनुभएको थियो । रासस















प्रतिक्रिया