काठमाडौँ, २७ चैत । उद्योगमन्त्री महेश बस्नेतले स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने ऐन तथा निर्देशिका चाँडो संशोधन गरी कार्यान्वयनमा लाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
युवा उद्यमी मञ्चको आयोजनामा आजदेखि सुरु भएको पाँचौं ‘मेड इन नेपाल एक्पो’को उद्घाटन गर्दै उहाँले स्वदेशी उत्पादन प्रयोग गर्ने निर्देशिका र सार्वजनिक खरिद ऐनको संशोधन अबको मन्त्रिपरिषद् बैठकमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।
उद्योगमन्त्री बस्नेतले विदेशी उत्पादनको तुलनामा १५ प्रतिशतले महँगो भएपनि स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना गर्ने बताउनुभयो ।
कतिपय सन्दर्भमा राज्यले अङ्गीकार गरेको उदारीकरण तथा निजीकरणलाई व्यवहारमा लागू गर्न नसक्दा पनि केही नेपाली उद्योग बन्द भएको मन्त्री बस्नेतले उल्लेख गर्नुभयो ।
मेलाका संयोजक सुदर्शन बस्नेतका अनुसार चार दिनसम्म चल्ने मेलामा १२० कक्ष राखिएका छन् ।
मेलामा हस्तकला, छाला, सजावट, लत्ताकपडा एवम् दैनिक उपभोग्य सामग्री राखिएका छन् । मेला ३५ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ । रासस















प्रतिक्रिया