काठमाडौं, २५ चैत । श्रीमानको हिंसा सहन नसकेर घरबाट विस्थापित उदयपुरकी २० वर्षीय उमा (नाम परिवर्तन) परियार अहिले राजधानीको धापाखेलमा बस्छिन् ।
उनको विवाह करिब पाँच अगाडी भएको थियो । विहे भएको सुरु सुरुमा श्रीमानले राम्रो व्यवहार गरेपनि पछि त्यो व्यवहार उनले पाउन सकिनन् । दिनदिनै मदिरा सेवन गरी घरमा आउने श्रीमान दुव्र्यवहार मात्रै गर्थे ।
कति दिन त उनी यौन शोषणको सिकारमा समेत परिन् । श्रीमानको निरन्तर दुव्र्यवहार सहन नसकेपछि उनी परिवारबाट विस्थापित भएर उदयपुरबाट २ वर्षअघि राजधानी काठमाडौं पुगिन् ।
राजधानी अलपत्र उनलाई वेचविखन विरुद्ध कार्यरत गैरसरकारी संस्था के आई नेपालले संरक्षण दिएको थियो । भन्छिन्–‘संस्थाका दिदीहरुले मलाई नयाँ जिन्दगी दिए ।’ उनलाई के आई नेपालले ६ महिना आफ्नै संरक्षणमा राखेर सीपमुलक तालिम दिएको थियो ।
६ महिनाको तालिमबाट सीप सिकेर उनी संस्थाको सहयोगमा डेढ वर्षदेखि धापाखेलमा सिलाइकटाई व्यवसायी बनेकी छिन् । ‘म यहाँ सम्म पुग्छु भन्ने सोचेकै थिईन्’ उमाले विगतलाई सम्झिँदै भनिन् । के आई नेपालले दिएको ६ महिने तालिमले आफूले जीवनमा बाँच्ने आधार पाएको उनले सुनाईन् ।
उनीजस्तै, भारत बेचिन लागेकी सुनसरीको धरानकी पुष्पा (नाम परिवर्तन) मगरको पनि जीवन फेरिएको छ । घरपरिवारको आर्थिक अवस्था कमजोर तथा दैनिक पारिवारिक कलहको सिकार बनेकी उनी पश्चिम कञ्चनपुर जिल्लाको गड्डाचौकी नाकाबाट भएर रोजगारीका नाममा भारत बेचिन लागेकी थिईन् ।
तर, उनलाई सीमाबाटै उद्दार गरियो । उनी घर फर्कने अवस्था थिएन् कारण घरमा पारिवारिक कलह, सधै बाबुको हिंसाको सिकार । उनलाई के आई नेपालको गड्डाचौकी युनिटले उद्दार गरेको थियो । उद्दार पश्चाप उनी राजधानी पुगिन् । के आई नेपालले उनलाई राजधानी ल्याएर ६ महिना सम्म आफ्नो संरक्षणमा राख्यो ।
भन्छिन्–‘कमाउन भारत हिँडेकी म कसरी काठमाडौं पुगे, सम्झिदाँ सपना जस्तो लाग्छ ।’ काठमाडौं बस्दा उनले के आई नेपालको संरक्षणमा ६ महिना सीपमुलक तालिम लिएको बताईन् । अहिले उनी एक सफल व्युटीसियन व्यवसायी बनेकी छिन् । सीप सिकेर उनले राजधानीको धापाखेलमा व्युटीपार्लर व्यवसाय चलाइरहेकी छिन् ।
‘संस्थाले दिएको तालिमले मेरो जीवनले संघर्ष र आत्मनिर्भर बन्न सिकाएको छ,’ उनले भनिन् । उनलाई व्यवसाय सञ्चालनका लागि संस्थाले ५० हजार अनुदान सहयोग दिएको थियो । यस्तै हिंसापीडित महिलाहरु आजभोली विभिन्न गैरसरकारी संस्थाको सहयोगमा सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन् । व्यवसायी बन्न थालेका छन् ।
देशका कयौ स्थानमा शाखा विस्तार गरेको गैरसरकारी संस्था के आई नेपालले हाल सम्म हिंसामा परेका १ हजार बढी महिलाहरुलाई संरक्षण दिएर सीपमुलक तालिम दिइसकेको छ । आफ्नै स्रोत साधनमा महिलाहरुलाई सीप सिकाउँदै आइरहेको के आई नेपालले पछिल्लो समय सरकारी निकायसंग समेत साझेदारी गर्न थालेको छ ।
‘हाम्रो मुख्य काम मानव वेचविखन रोकथाम, सीमा निगरानी हो,’ के आई नेपालका कार्यक्रम संयोजक राधिका गिरीले भन्नुभयो, ‘हिंसामा परेका महिलाको उद्दारसंगै उनीहरुलाई समाजमा पुनस्र्थापना गराउन, आत्मनिर्भर बनाउन सीप सिकाउने गरेका छौं ।’ रोजगारी कै नाममा बढीजसो महिला तथा किशोरीहरु बेचिने भएकाले महिलाहरुलाई सीपमुलक तालिमहरु दिनु आवश्यक रहेको उहाँको धारणा छ ।
‘सीप सिकेर आफ्नै देशमा काम गरुन भन्ने उद्देश्यले तालिम दिँदै आइरहेका छौं, यो कार्यक्रम निरन्तर चलिरहेको छ ।’ उहाँका अनुसार संस्थाले सीप सिकेका महिलालाई सक्षम बनाउन व्यवसायमा लगानी समेत गर्दै आइरहेको छ । यस्तै, संस्थाले भर्खरै मात्र ६० जना महिलालाई सीप मुलक तालिम प्रदान गरेको छ ।
श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको व्यवसायिक तथा सीप विकास केन्द्र भैँसेपाटीसँग सहकार्य गरी राजधानीको हात्तिवनमा महिलाहरुलाई तालिमबाट सीप प्रदान गरेको हो । साउन १ बाट सुरु भएको तालिममा शुक्रबार ६० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रमाणपत्र दिँदै के आई नेपालका केन्द्रीय अध्यक्ष दयाराम पोखरेलले सीप सदुपयोग गरी आत्मनिर्भर बन्न प्रशिक्षार्थी महिलालाई आग्रह गर्नुभयो । सीप सदुपयोग गर्नेलाई संस्थाले लगानी गर्ने उहाँको भनाई थियो ।















प्रतिक्रिया