१ कार्तिक २०८३, आइतबार

कामदारसित अतिरिक्त रकम असुल्ने व्यवसायी कालोसूचीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Foreign_Employment Nepali kamdar Bidesकाठमाडौ, २५ चैत । कतार र नेपालबीच वैदेशिक रोजगारीमा कतार जाने नेपालीबाट अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरूलाई अनुगमन गर्ने तथा कालोसूचीमा राख्ने सहमति भएको छ ।

कतारका श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुल्ला बिन सलिह अल खुलाइफी र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ नेतृत्वको यहाँ सम्पन्न द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो ।

वैदेशिक रोजगारीमा कतार जाने नेपालीबाट अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरूलाई नेपाल र कतार सरकारले कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कतारले आप्रवासी कामदारको सुरक्षा, बिमा, उपयुक्त कार्यस्थलका साथै सामाजिक सुरक्षासँग सम्बन्धित सबै विषयमा ध्यान दिने तथा सरकारले हालै आप्रवासी कामदारका समस्या सम्बोधन गर्न कानुन संशोधन गरेको जानकारी वार्ताका क्रममा दिएको श्रम तथा रोजगार मन्त्रालयले मंगलबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

वार्ताका क्रममा नेपालले कतारमा कार्यरत एक लाखभन्दा बढी नेपालीको सुरक्षाको प्रत्याभूति, दक्ष एवं व्यावसायिक श्रमिक लिन तथा उनीहरूलाई कार्यस्थलमा जानुअघि पूर्वअभिमुखीकरण तालिम उपलब्ध गराउन र वैधानिक कागजपत्र नभएकाहरूलाई प्रायोजक परिवर्तनलगायत समस्यामा परेकाहरूलाई सहयोग गर्न अनुरोध गरेको कान्तिपुर दैनिकले छापेको छ ।

नेपालको अनुरोधप्रति कतारी प्रतिनिधिमण्डलले सकारात्मक जवाफ दिएको तथा कामदारहरूको तलबभत्ता उनीहरूको बैंक खातामा जम्मा गर्ने प्रावधान रहेको जानकारी दिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

कतारलाई आवश्यक भएका कामदार र तिनको मागपत्रका साथै रोजगारीको करारपत्रको प्रमाणीकरण गर्न कतारी रोजगार विभागलाई नेपाल सरकारका तर्फबाट गरिएको अनुरोधलाई पनि कतारले सकारात्मक लिएको छ ।

नेपाली कामदारको व्यवस्थापन र अभिलेखीकरणमा कतारले गर्दै आएका कामबारे जानकारी लिन दुईजना नेपाली सञ्चार प्राविधिज्ञलाई कतार पठाउन गरेको आग्रहलाई नेपालले स्वीकार गर्दै यथासक्य छिटो सञ्चार प्राविधिज्ञ पठाउने जवाफ दिएको उक्त मन्त्रालयले जनाएको छ ।

वार्तामा दुवै मुलुकले वैदेशिक रोजगारीसम्बन्धी सूचना आदानप्रदान गर्ने तथा गैरकानुनी काम गर्नेहरूलाई कानुनको दायरामा ल्याउने सहमति जनाएका थिए । साथै श्रम सम्बन्धलाई अझ घनिभूत तुल्याउन दुवै मन्त्रीबीच सहमति भएको छ ।

मन्त्री खुलाइफीले राज्यमन्त्री गुरुङलाई कतार भ्रमणका लागि गरेको आमन्त्रणको सहर्ष स्वीकार गर्दै उनले उपयुक्त समयमा कतार आउने जानकारी गराएका थिए ।