१ कार्तिक २०८३, शनिबार

यस्तो छ प्रेम र देश भावना बोकेको गजल कृति ‘अजनबी’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ajanaib-jagal– बिराट अनुपम
नामैले बोल्छ कृति अपरिचित वा नबिन । गजल लेखनी र पुस्तकाकारका कोणबाट गजलकारले गरेको यो अनुभवलार्इ ‘अजनबी’नै मान्नुपर्छ ।

चितवनबाट पुष्प अधिकारी अन्जलीको सम्पादनमा निस्कने अहिले सम्मकै विशाल नेपाली गजल कृति ‘शब्दको पिरामिड’ नामक १४ अञ्चलका १०० सष्ट्रासंगै संयुक्त गजल संग्रह पछिको यो एकल गजल संग्रह हो ।

जाजरकोटका गजलकार प्रकाश किरणको सामान्य शब्द, सुनेका र दिफ र काफियामा प्राण नयाँ सिल्प र भिन्न कोणले भर्न सक्ने ताकत गजलकारमा पाइन्छ । ‘आउ यो बबुरोको दिलमा बस तिमी । पिरतीको सुन्दर मन्जिलमा बस तिमी । तिम्रो सम्झनामा अतित बग्दैछ नयनमा । अश्रुधारा हेर्दै परेलीको दिलमा बस तिमी ।’

यो गजलमा बजारे सस्ता गजलले गर्दा ‘गजलमा कविता पाइँदैन’ भन्ने स्वरहरुलाई गतिलो जवाफ दिन्छ । प्रकाशका गजलको सक्ति प्रेम, परिवार, परिबेश र प्रकृतिमा केन्द्रित छन् ।

कहिले मुलुकमा शान्ति हराएकोमा चिन्ता त कहिले मनमा नपुगेको जुनका गजल लेख्छन गजलकार । सिङ्गारिक र समसामयिक सबैखालका गजल समाबेश गरिएको यो कृति एउटा गजलको प्याकेज संग्रह भन्दा हुन्छ ।

एउटा गैर श्रृङ्गारिक गजल हेरौ : ‘अभावको केन्द्रबिन्दु बनिराछ तेरो सहर । गरिबहरु बाँच्नुहुन्न भानिराछ तेरो सहर । रोगभोकले ग्रसित त दूरदराज बिर्सिएर । पैसावालको ताँती मात्रै गनिराछ तेरो सहर ।’ यो गजलले नेपालको गाउँ र सहरको दुरी र तेस्का अन्तरद्वन्द ओकलेको छ ।

काठमाडौंले देशलाई नहेर्ने र अन्य क्षेत्रीय सहरले आसपासलाई नहेर्ने नेपाली परिपाटीको गतिलो यथार्थ र बिद्रोह छ यी दुइ गजल शेरहरुमा । यस्तै, अन्य थुप्रै गजल छन् प्रकाश किरणका समसामयिक र सक्तिशाली प्रेमको कुरामा निर्दोष प्रेम र देशका कुरितिको सवालमा खुंखार
क्रान्तिकारीता पाइन्छ ‘अजनबी’मा ।

एउटा प्रेम गजल हेरौ : ‘साथ तिम्रै हात तिम्रै माग्न आएको छु म । पोल्टाभरी तिम्रै माया थाप्न आएको छ म । सदासदा तिम्रै माया पाउँभनी मैले । देउरालीमा देभीदेउता भाक्न आएको छ म ।

अर्को समसामयिक गजल शेरहरु हेरौ : ‘जलस्रोतको धनी देशमा लोडसेडिङको मार भो । पिउने पानी नपाएर यो देश हाहाकार भो । कोशी गण्डकी काली बेचे के नै छ र बाँकी बेच्न । नेपालीको अस्मिता र स्वाभिमानी प्रहार भो ।’

अनि एउटा मिश्रित गजल हेरौ : ‘कहिले फुल पठाएर कहिले अत्तर पठाएर । गयौ दिलमा यादहरुको लस्कर पठाएर । झाडापखालाले विक्षिप्त दुरदराजमा । ढुक्क छ राज्य निकम्मा डाक्टर पठाएर ।’ यसरी गजल लेखन, बिषयबस्तु चयनमा र संरचनागत आँखामा ‘अजनबी’लाई एउटा समाबेशी गजल कृति मान्नुपर्छ ।

जसमा प्रेमका, देशका र दुर्इ थरीनै बिचार बोकेका शेरहरु आएका छन् । गीत गाउने, कार्यक्रममा ताली पाउने र एकान्तमा सम्झने सबै आकारका गजल अटाउनु गजलकारको आकर्षक पक्ष देखिन्छ ।

देशका र समसामयिक सवाल समान भाबका तर भिन्न-भिन्न रदिफ र काफिया टेकेर आउनु कमजोरी जस्तो लाग्छ दोहोर्याएर पढ्दा । समग्रमा एउटा राम्रो कृति बनेको छ ‘अजनबी’ । यसका रचनाकार प्रकाश किरणलाई सफल गजल यात्राको अग्रिम शुभकामना ।