गोरखा, २३ चैत । ‘माननीय ज्यू, उडुसले टोकेर रातभर सुत्न पाइँदैन, मारिदिनु पर्यो’, जिल्ला कारागारका कैदी बन्दीले राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठक र प्रमुख जिल्ला अधिकारीसँग आइतबार गुनासो गरे ।
कारागार अनुगमनमा पुगेका पाठकलाई महिला र पुरुष कैदीबन्दीको पहिलो भनाइनै यही थियो । बन्दीहरुका चौकीदार मानबहादुर भुजेल पनि भन्दै थिए, ‘धेरै जना भएकाले सरसफाई छैन, उडुसले चुसेर सखाप पार्न लाग्यो ।’
महिला बन्दीको पनि समस्या उस्तै थियो । ‘उडुस मारेरै दिनबित्छ’, चौकीदार निर्मला मिश्रले भनिन, ‘राती पनि सुत्न पाइदैन ।’ गतवर्ष रङ्गरोगन गरेपछि मासिएको उडुस फेरि गर्मी सुरु भएपछि फैलन थालेको उनले बताइन ।
कारागार शाखाले रङ्ग लगाउने र सरसफाईका लागि फिनेल किन्ने पैसा पनि नभएको भन्दै टारेको बन्दीले बताए ।
क्षमता भन्दा दोब्बर बढी कैदीबन्दीका कारण सुत्न, बस्न, शौचालय जान समस्या भएको भुजेलले बताएको कान्तिपुर दैनिकले छापेको छ ।
‘राती एउटै कोठामा खप्टिएर सुत्दा शास फेर्न पनि गाह्रो हुन्छ’, उनले भने । कारागारमा न्युनतम मानवियता पनि नभएको प्रजिअ उद्धव तिमेल्सेनाले स्वीकारे ।
उनले भने ‘नेताहरुले जेल बसेर उडुस टिपेको बिर्सिए, कारागार सुधार हुन सकेन ।’ सरसफाईमा ध्यान दिन सके उडुस मासिने उनले कैदीबन्दीलाई सुझाव दिए ।
कारागारमा १ सय २ जना पुरुष र १७ जना महिला कैदीबन्दी छन् । जेलको क्षमताको तुलनामा पुरुष कैदीबन्दीको संख्या दोव्बर बढी हो ।
धेरै जना हुदाँ खाना पकाउने ठाँउ र प्यासेजमा पनि सुत्नु पर्ने बाध्यता रहेको उनीहरुले बताए । ‘बरण्डामा खान पकाउछौँ, त्यहि सुत्छौँ, जेलको जीवन साह्रै सकस भो’, मियुङर लामाले भने ।
शौचालय जान लाईन लाग्नु पर्ने, पानी पिउन पनि कुर्नु पर्ने समस्या रहेको उनीहरुको भनाई थियो । गर्मीयाममा बढी समस्या हुने उनीहरुले गुनासो गरे ।
‘कारागारको भवन जीर्ण भईसक्यो वषरतमा पानी चुहिएर भिजाउँछ’, मिश्रले भनिन् । खेलकुद, मनोरञ्जनका साधन नभएपनि ढुक्कसँग सुत्न र खानाबस्न पनि नपाएको उनीहरुले एकै स्वरमा बताए ।
कारागार शाखाले भने बजेट नहुँदा कैदीबन्दीको माग पुरा गर्न नसकेको जनाएको छ । प्रजिअ तिमेल्सेनाले भने ‘रङ्ग र फिनेल किन्न पनि अरुको मुख ताक्नुपर्ने अवस्था छ ।’
आयोगका सदस्य पाठकले हिरासत र कारागारलाई सुधार गृह बनाउन सरकारलाई सुझाव दिने बताए । ‘जति क्षमता छ त्यतिमात्रै कैदीबन्दी राखिनुपर्छ’, उनले भने, ‘क्षमता भन्दा बढी राख्दा उनीहरुलाई निकै सकस भयो ।’
रागारको सुधारका लागि नै देशभर आयोगले अनुगमन थालेको उनले बताए ।















प्रतिक्रिया