काठमाडौँ, १९ चैत । भारतका विदेश सचिव डा सुब्रमन्यम् जयशङ्कर नेपालको दुईदिने औपचारिक भ्रमणमा आज बिहान राजधानी आइपुग्नुभयो ।
दुई महिनाअघि विदेश सचिवको कार्यभार सम्हाल्नुभएका उहाँ नेपालसँगको आत्मीयता प्रवद्र्धन तथा दुई मुलुकबीचको गाढा सम्बन्धका विविध आयामबारे वरिष्ठ सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग छलफल गर्न भ्रमणमा आउनुभएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) यात्राका क्रममा आफू नेपाल भ्रमणमा आएको बताउँदै आफ्नो यो भ्रमणले भारत सरकार तथा भारतीय प्रधानमन्त्रीको नेपालप्रतिको हाम्रो सम्बन्धको महत्व प्रतिविम्बित गर्छ भन्नुभयो ।
साथै उहाँले नेपालको राजनीतिक नेतृत्वका वरिष्ठ व्यक्ति र विभिन्न राजनीतिक दलका नेतासँग भेटवार्ता गर्ने जानकारी दिनुभयो ।
भारतले अवलम्बन गरेको ‘सबैभन्दा पहिले छिमेक’ नीतिअनुसार नेपालसँगको बहुआयामिक एवम् परस्पर लाभदायक सम्बन्ध सुदृढ तुल्याउन आफ्नो मुलुक प्रतिबद्ध रहेको सचिव सुब्रमन्यम्ले बताउनुभयो ।
गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुषमा स्वराजको भ्रमणका बेला भएका द्विपक्षीय सहमति, पारस्परिक लाभका परियोजना कार्यान्वयनमा भएका प्रगतिलगायत विषयबारे आफ्ना समकक्षी शङ्करदास वैरागीसँग छलफल गर्ने भारतीय विदेश सचिवले बताउनुभयो ।
“नेपाली जनताको शान्ति, स्थायित्व र समृद्धिको आकाङ्क्षाको भारत समर्थन गर्छ,” मन्तव्य टुङ्ग्याउँदै उहाँले भन्नुभयो ।
राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग उहाँले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
सार्क मुलुकको यात्राका क्रममा भारतीय विदेश सचिवले पाकिस्तान, श्रीलङ्का, अफगानस्तान र भुटानको भ्रमण गरिसक्नुभएको छ । विदेश सचिवमा नियुक्त भएपछि सुब्रमन्यम्को यो पहिलो नेपाल भ्रमण हो ।
विदेश सचिव सुब्रमन्यम्लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशकुमार सुवेदी, नेपालका लागि भारतीय राजदूत रञ्जित रे र यहाँस्थित भारतीय दूतावासका उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो । रासस














प्रतिक्रिया