वीरेन्द्रनगर, १८ चैत । पश्चिम सुर्खेत बाबियाचौरको जामुमा सुनखानीको सम्भावना देखिएकाले खोजतलास सुरु गरिएको छ ।
विगतमा राजी समुदायले बालुवा चालेर सुन निकाल्ने गरेको जामुमा अहिले खानी तथा भू–गर्भ विभागले चिनियाँ प्राविधिकसहितको टोलीसहित खोजतलासमा जुटेको हो ।
सुन खानीको खोजतलासको काम गर्न खानी विभागबाट लाइसेन्स प्राप्त गरेको जलजला जेम्स प्रालिले विगत १५ दिनदेखि खोजतलासको काम सुरु गरेको छ । बाबियाचौर–१ जामुलाई केन्द्र बनाइ प्रालीले १० वर्ग किलोमिटरमा खोजतलास गर्ने भएको हो ।
भेरी नदी किनारमा सुन खानीको खोजतलास गर्न अहिले स्काभेटर, टिपर र सुन चाल्ने मेसिनसमेत प्रयोग गरिएको छ । बालुवामा छरिएर रहेको सुन छान्नका लागि फाउन्डेसन तयार गर्ने काम भइरहेको प्रालिले जनाएको छ । खोजतलासमा सात जना चिनियाँ प्राविधिक टोलीसमेत संलग्न भएका छन् ।
जलजला जेम्स प्रालिका संयोजक झकबहादुर मल्लले बाबियाचौरकोे जामुमा बालुवामा पाइने प्लेसर सुन खानीको अनुसन्धान गर्न गत जनवरीमा खानी विभागमा दर्ता भएको बताउनुभयो । उहाँले करिब रु एक करोडको लगानीमा सुनखानीको सम्भावनाको खोजी गर्न सुरु गरेको जनाउनुभयो । उहाँका अनुसार बालुवालाई पानीमा बगाएर सुन चालिने र प्राप्त भएको सुनलाई ल्याबबाट परीक्षण गरी विभागमा प्रमाणित गरिनेछ ।
नदी किनाराको पहिलो तहमा सुनको मात्रा फेला नपरेको र दोस्रो तहमा खन्ने काम भइरहेको प्रालिका संयोजक मल्लले बताउनुभयो ।
सुनको सम्भावना फेला परे आगामी वर्षबाट उत्खननको काम गरिनेछ । उहाँका अनुसार स्वदेशी लगानी सम्भव नभएकाले विदेशी लगानीमा सञ्चालन गरिने प्लेसर गोल्ड खानीको उत्खननमा स्थानीयलाई समेत सहभागी गराइनेछ ।
जलजला जेम्स प्रालिले बालुवामा पाइने प्लेसर सुनको खोजतलासका लागि लाइसेन्स लिएको १० वर्ग किलोमिटर स्थान घाटगाउँ, विद्यापुर र बाबियाचौर तीन गाविसको क्षेत्रमा पर्ने भेरी नदी किनार रहेको छ । रासस















प्रतिक्रिया