१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीका नाममा सात खसी ढालिए, कोइराला कार्यक्रममा अनुपस्थित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

babaiसुर्खेत, १७ चैत । भेरी-बबई डाइभर्सन आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री सुशील कोइराला नै आउने भएपछि सुर्खेतमा सोमबार निकै तामझाम थियो।

नेपालगन्जबाट सामान ल्याएर मञ्च निर्माण र सजावट भएको थियो।

कार्यक्रमस्थलमा भोज दिन भन्दै सातवटा खसी काटिइसकेका थिए भने दुईवटा खसी काट्न बाँकी थिए। करिब एक हजारभन्दा बढीलाई खाना पकाइएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

आयोजनाको शिलान्यासमा प्रधानमन्त्री कोइराला, गृहमन्त्री वामदेव गौतम, सिचाइँमन्त्री एनपी सावदलगायत सरकारी अधिकारी आउने तय भएको थियो।

सोमबार बिहानैदेखिको वर्षाका कारण काठमाडौंबाट हेलिकोप्टर उड्न नसकेपछि अन्ततः दिउँसो २ बजे कार्यक्रम स्थगित भयो। आयोजनाको करिब १० लाख रुपैयाँ खेर गयो।

कार्यक्रम स्थगित भएपछि अधिकांश सहभागी भोज नै नखाई फर्के। कार्यक्रमका लागि बाँके र सुर्खेतबाट ठूलो सं यामा सुरक्षाकर्मी परिचालन भएका थिए।

सिचाइँ सचिव, सिचाइँ विभागका महानिर्देशक, सरकारी कर्मचारी, राजनीतिक दलका कार्यकर्तादेखि जिल्लाका सभासद्हरूसमेत आइपुगेका थिए।

सरकारले नै राष्ट्रिय गौरवको आयोजना घोषणा गरेकाले यस आयोजनाको शिलान्यास प्रधानमन्त्रीबाटै गराउन लामो कसरत गरिएको थियो। विभिन्न झाँकी र बाजागाजासहित हातहातमा माला लिएर प्रधानमन्त्रीको स्वागतका लागि स्थानीय प्रतीक्षारत थिए।

वर्षाका कारण हेलिकोप्टर उड्न नसक्ने भन्दै काठमाडौंबाट प्रधानमन्त्री नेतृत्वको टोली नआएपछि सोमबार हुने भनिएको आयोजनाको शिलान्यास भएन।

कार्यक्रम हुन नसकेपछि सोमबारको तयारीमा लगानी भएको १० लाख रुपैयाँ खेर गएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मीनराज ढकालले जानकारी दिए।

उनले भने, ‘प्रधानमन्त्री आउने भनेर हामीले भव्य तयारी गरेका थियौं, वर्षाले गर्दा उहाँहरू आउन सक्नु भएन।’

शिलान्यास कार्यक्रम मौसममा सुधार भए मंगलबार प्रधानमन्त्रीबाटै हुने बताइएको छ। प्रधानमन्त्री मंगलबार आएमा कार्यक्रम तयारीमा थप रकम खर्च हुनेछ।

आयोजनाको शिलान्यास तयारीमै लाखौं रकम खेर फालिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। उनीहरूले काठमाडौंबाट सरकारी टोली आउन नसक्दा स्थानीय अधिकारीबाटै आयोजना शिलान्यास गर्नुपर्ने बताए।

यो आयोजनाले १२ किलोमिटर सुरुङ खनेर सुर्खेतको भेरी नदीको पानी बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने तथा बाँके र बर्दियामा गरी ६० हेक्टर खेतीयोग्य जमिनमा सिचाइँ गर्ने लक्ष्य राखेको छ।