धनगढी, १६ चैत । कर्मचारी सञ्चय कोष शाखा कार्यालय धनगढीले सञ्चयकर्तालाई उपलब्ध गराउँदै आएको घर सापटी ऋणको सुविधा थप क्षेत्रमा विस्तार गर्न लागेको छ ।
कार्यालयद्वारा कञ्चनपुरको भीमदत्त नगरपालिका (महेन्द्रनगर), झलारी-पिपलाडी, बेलौरी र त्रिभुवनवस्ती नगरपालिका, कैलालीको लम्की–चुहा र टीकापुर नगरपालिका क्षेत्रमा घर सापटी ऋण सुविधा उपलब्ध गराउने तयारी गरिरहेको कार्यालयका निमित्त प्रमुख विमल खतिवडाले बताउनुभयो ।
यस्तै कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्मको पूर्व-पश्चिम राजमार्ग सडकखण्ड आसपासमा घर निर्माण गर्न चाहने सञ्चयकर्तालाई पनि यो सुविधा उपलब्ध गराउन लागिएको छ ।
कोषको धनगढीस्थित कार्यालयले हालसम्म धनगढी र अत्तरियाको बजार क्षेत्रमा मात्र सञ्चयकर्तालाई यो सुविधा प्रदान गर्दै आएको थियो ।
सञ्चयकर्तालाई घर सापटी ऋणको नौ प्रतिशत ब्याजदर लिने गरिएको छ । कोषले सञ्चयकर्ताबाट सेवा सुविधा प्रदान गर्दा रु ५०० सेवा शुल्क लिने गरेको छ ।
सञ्चयकर्ताको सुरु तलबको १० वर्षले हुन आउने रकम बराबर घर सापटी ऋण उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षको छ महिनामा कार्यालयले सुदूरपश्चिमका ३७ जना सञ्चयकर्तालाई करिब रु चार कारोड ३९ लाख ८८ हजार ८४८ घर सापटी कर्जा लगानी गरेको छ । यो अवधिमा लगानीमा रहिरहेकामध्ये करिब रु ४५ करोड २७ लाख ३४४ असुली गरिएको छ ।
कार्यालयको विशेष सापटीमा सबैभन्दा बढी लगानी हुने गरेको छ । यो शीर्षक अन्तर्गत सञ्चयकर्ताको कोषमा जम्मा भएको रकमको ९० प्रतिशतसम्म लगानी गर्न सकिने प्रावधान रहेको छ ।
सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाका सञ्चयकर्तालाई नजिकबाट कोषको सेवा लिन समस्या उत्पन्न हुने गरेकाले यी जिल्लाको पायक पर्ने ठाउँमा कोषले कार्यालय स्थापना गरी सेवा उपलब्ध गराउनुपर्ने सञ्चयकर्ताको माग रहेको छ ।
कर्मचारीसञ्चय कोषले घर सापटीका अतिरिक्त शैक्षिक सापटी, सरल चक्र कर्जा, काज किरिया अनुदान, दुर्घटना अनुदान, विशेष सापटीलगायतका सेवा सुविधा सञ्चयकर्तालाई उपलब्ध गराउँदै आएको छ ।
धनगढीमा विसं २०६७ भदौमा कोषको कार्यालय स्थापना भई सेवा सुरु गरिएको हो । सुदूरपश्चिममा मात्रै करिब ५० हजार सञ्चयकर्ता रहेका छन् । यी सञ्चयकर्ताबाट कोषमा वार्षिक करिब रु दुई अर्ब जम्मा हुने गरेको छ । रासस















प्रतिक्रिया