– घनश्याम पौडेल
अर्घाखाँची, १५ चैत्र । यस वर्ष अर्घाखाँची जिल्लामा १० करोडको सुन्तला उत्पादन भएको छ । यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गत वर्ष ५३ सय ९० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यो वर्ष ५६ सय २९ मेट्रिकटन उत्पादन भएको छ । यसपाली ५ प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेलले बताए ।
‘मौसम अनुकुल, रोग प्रकोपमा कमी र वगैंचा व्यवस्थापनमा सुधार भएका कारण उत्पादनमा वृद्धि भयो’ उनले भने । कृषि विकास कार्यालयका अनुसार जिल्लामा १ हजार १४ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो ।
पणेना– १ सिम्लेका रेवतिप्रसाद पौडेलले अहिले ४ लाखको सुन्तला बिक्री गरे । करिव ३० रोपनी जग्गामा उनले व्यवसायीक रुपमा सुन्तला खेती गरेका छन् । पाखो भिरालो जग्गा जहाँ मकै, गहुँ लगायतका अन्य लगाउँदा छ महिना पनि खान पुग्दैनथ्यो ।
अहिले उक्त जग्गा यहाँका कृषकहरुका लागि आर्थिक उपार्जनको दरिलो मध्यम बनेको छ । ‘म यो खेतीबाट निकै सन्तुष्ट छु’ उनले भने, ‘कम मेहेनतमै धेरै आम्दानी मिलेको छ ।’
उनी मात्र होइन यहाँका अधिकांश कृषकहरुले व्यवसायीक रुपमा सुन्तला खेती गर्छन । पणेना जिल्लाकै सबै भन्दा धेरै सुन्तला उत्पादन हुने ठाउँ हो । पणेनामा व्यवसायीक रुपमा खेती नगर्नेहरुले पनि वार्षिक ६० हजार देखि १ लाख सम्मको आम्दानी गर्ने गरेको बताउँछन् ।
यहाँका करिव २ सय ५० कृषक व्यवसायीक रुपमै यो खेतीमा लागेका छन् । यहाँ मात्र करिव दुइ करोडको सुन्ताला उत्पादन भएको छ । कृषकहरुले वर्षेनि सुन्तालाको वगैंचा बिस्तार गरिरहेका छन् । पणेनासँगै पटौटी, खिदीम अर्घातोष, मरेङ, हंसपुर, खन गाविसलाई सुन्तला खेतीको पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ ।
जिल्लामा उत्पादित सुन्तला ६० प्रतिशत जिल्लामै र ४० प्रतिशत जिल्ला बाहिर निर्यात हुने गरेको छ । सबै भन्दा वढि वुटवलमा निर्यात भएको छ । वुटवल बाहेक कपिलवस्तु, पाल्पा, गुल्मी, प्यूठान पनि निर्यात हुन्छ ।
सुन्तला खेतीको पकेट क्षेत्रका कृषकहरुले समुह बनाएर खेती गरिरहेका छन् । कृषकहरु विरुवा उत्पादन गरेर पनि राम्रो आम्दानीमा लागेको छन् । पकेट क्षेत्र भन्दा अन्य गाविसका कृषकहरुले पनि व्यवसायीक रुपमा खेती गर्ने गरेका छन् ।
सुन्तलाले सोँचे भन्दा पनि राम्रो बजार पाउन थालेपछि यो खेतीतर्फ कृषहरुको मोह वढन गएको हो । कृषकहरुले यो बर्ष सुन्तला बजार सम्म पनि लैजान नपरेको बताएका छन् । व्यापारीहरु कृषकको बगैंचामै आएर सुन्तला खरिद गरेको कृषकहरुको भनाइ छ ।
उनले यो बर्ष करिब अढाइ लाख आम्दानी गरेको बताउँछन । ‘२० रुपैयाँमा बोटबाटै बिक्री गरे’ उनले भने । बजारमा भने ४० देखि ८० रुपैयाँ सम्ममा बिक्री भयो । थापाले करिव २९ रोपनी जग्गामा खेती गरेका छन् ।
हंपपुरमा पनि करिव ३० घरपरिवारमा सुन्तला खेतीमै आश्रित छन् । ‘सुन्तालाको लागि सबै भन्दा ठूलो डर असिनाको हुन्छ, असिना परेन भने अरुको समस्या त्यत्ति हुँदैन’ उनले भने ।
















प्रतिक्रिया