काभ्रे, १५ चैत । करिब डेढवर्षअघि आधुनिक गाइ फार्म सञ्चालनमा ल्याएका रामबहादुर गौतमले फार्मलाई थप विस्तार गरेका छन् ।
काभ्रेका युवा व्यवसायीले पात्लेखेत–३ मा सञ्चालनमा ल्याएको विस्तारित गौतमश्री अर्गानिक एण्ड काउ फार्मको मुख्य सचिव लीलामणि पौडेलले शनिबार एक कार्यक्रमबीच उद्घाटन गरे ।

सचिव पौडेलले फार्म गतवर्षभन्दा दोव्वरले विस्तार भएकोमा युवा व्यवसायीको प्रशंसा गर्दै यस्तो नमूनायोग्य फार्म अन्य व्यक्तिका लागि पनि प्रेरणाको श्रोत बन्ने बताए । कृषि क्षेत्रको विकासविना आर्थिक विकास संभव नहुने भन्दै ठूला ठूला व्यवसायिक कृषि फर्म विस्तार गर्न सके स्वदेशमै रोजगारी सिर्जना हुने बताए ।
कुनै पनि काम ठूलो सानो नहुने भन्दै सबैले श्रमको सम्मान गर्नुपर्ने बताए । नेपाल ट्रष्टका सचिव नरबहादुर रजवारले गौतमश्री फार्म कृषिमा व्यवसायीकरण नमूना भएको बताए ।
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले कृषिको व्यवसायिकरणसँगै औद्योगिकरणमा पनि जोड दिए । कृषि क्षेत्रको व्यवसायिकरणमा युवा व्यवसायी गौतम योगदानको प्रंशसा गर्दै उद्यमशीलता प्रवद्र्धनका कर प्रसाशनको पनि आफ्नो क्षेत्रबाट भरपूर सहयोग रहने बताए ।
सो अवसरमा काभ्रेका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकाल, स्थानीय समाजसेवी केशव बडाललगायतले गौतमश्री गाइ फार्म गाउ, जिल्ला र राष्टकै गहना भएको धारणा व्यक्त गरेका थिए ।
युएस एडको फार्मर टु फार्मर कार्यक्रम अन्तर्गत अमेरिकाबाट नेपाल आई सो काउफार्ममा १५ दिने तालिम दिएका गाई बिशेषज्ञ डा. आर्ची एल डेभोरले नेपालमा गाईपालनको प्रचुर संभाबना रहेको बताउँदै दुध उत्पादनका लागि बिभिन्न प्राबिधीक ज्ञानको आबस्यकता रहेको बताए ।
सो अवसरमा गौतमश्री अर्गानिक एण्ड काउ फार्मका प्रवन्ध निर्देशक रामबहादुर गौतमले फार्मलाई अन्य जिल्लामा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताए ।
फार्मलाइ द्रुतगतिमा विस्तार गर्ने सोच हुँदा हुँदै पनि अपेक्षाअनुसार गर्न नसकिएको गुनासो गर्दै उनले निकट भविश्यमै अर्को फार्म हेटौडामा स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । हाल सञ्चालनमा रहेको फार्ममा भने भैसीपालन पनि सुरु गरिने जानकारी दिए ।
निकट भविष्यमै तीनसय वटा भैंसी थप गर्ने गरी भैंसीका लागि आवश्यक भौतिक पूर्वाधार तयारीको काम भइरहेको उनले जानकारी दिए । करिब १४ करोड रुपैयाँको लगानी सञ्चालित फार्ममा उन्नत नश्लका गाईपालनका साथै बाख्रापालन र अर्गानिक खेतीसमेत गरिएको छ ।
हाल ३ सय ५० उन्नत र स्थानीय जातका गाइ रहेको र होलस्टिन फ्रिजियन, जर्सी गाईको बाहुल्य रहेको गौतमले बताए । ६० प्रतिशत जति गाई ब्याउने अवस्थामा रहेकाले हाल २ हजार २ सय लिटरमात्रै दूध उत्पादन भइरहेको उनले जानकारी दिए ।
काभ्रेमा उत्पादित दूध काठमाडौंको कुलेश्वर र मैतीदेवीस्थित आफ्नै बिक्री केन्द्रमार्फत विक्री गर्दै आएको बताए । गाईको दूध माग बढेसँगै उनले ५ सय गाईपालन गर्ने योजना बनाएका छन् । आगामी ६ महिनाभित्रमा ५ हजार लिटर दूध उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाएको गौतमले जानकारी दिए ।
सुरुमा कच्चा दूध बेच्दै आएका उनले हाल नौनी, घ्यू, पनिर, रसबरीको उत्पादन सुरु गरेका छन् । उनले स्थानीय किसानलाई निःशुल्क गाई दिने र उत्पादित दूध अरु व्यवसायीले भन्दा बढी किन्ने घोषणा गरेका भए पनि स्थानीयवासीले भने खासै चासो नदिएको गुनासो गरे ।
हाल उनको फार्ममा ७५ हजारदेखि तीन लाख रुपैयाँसम्मका गाइ रहेका छन् भने गाइको आहाराका लागि ३ सय रोपनीमा घाँसखेती गरिएको छ । उनको फार्ममा ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने कामदारले मासिक २० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन् ।















प्रतिक्रिया