सिङ्गापुर, १५ चैत । आधुनिक सिङ्गापुरका निर्माता एवम् सिङ्गापुरका पूर्व प्रधानमन्त्री ली क्वान युको अन्त्येष्टि आइतबार हुँदैछ । उहाँको शवयात्रा आइतबार बिहानबाट सुरु भएको समाचारमा जनाइएको छ ।
सिङ्गापुरका दशौँ हजार नागरिक सो शवयात्रामा सहभागी भएका छन् । उनीहरुले आफ्ना प्यारा नेताप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्तगर्दै उहाँको शवयात्रमा सहभागी भएका हुन् । 
आइतबार बिहानैदेखि सिङ्गापुरमा भारी वर्षा भइरहेको छ । वर्षाका बाबजुत पनि दशौँ हजार नागरिक सो शवयात्रामा सहभागी भइरहेका बताइएको छ ।
सिङ्गापुर सरकारले राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि गर्ने भएको छ । आइतबार बिहानबाट सुरु भएको सो शवयात्राको प्रक्रियालाई अत्यन्तै आकर्षक र भब्य बनाइएको छ । उहाँको शवलाई यसअघि संसद भवन परिसरमा राखिएको थियो ।
उहाँप्रति श्रद्धाञ्जली दिनका लागि त्यहाँ यसअघि पनि लाखौँ व्यक्ति पुगेका थिए । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न संसदमा चार लाख १५ हजार व्यक्ति पुगेको जानकारी अधिकारीहरूले शनिबार दिएका छन् ।
एसियाका यी राजनेताको अन्त्येष्टि आइतबार गरिने जानकारी यसअघि नै सरकारले दिएको थियो । उहाँको गत सोमबार ९१ वर्षको उमेरमा देहावसान भएको थियो ।
उहाँलाई २१ तोपको सलामी दिइने निर्णय सरकारले गरेको छ । सामान्यतया २१ तोपको सलामी पदमा रहेका अर्थात वर्तमान राष्ट्रपतिलाई मात्र दिने गरिएकोमा उहाँ सिङ्गापुरका संस्थापक एवम् राष्ट्रपिता रहेकाले अपवादका रुपमा य निर्णय गरिएको बताइएको छ ।

विशेष रुपमा सजाइएको पाल्कीमा उहाँको शव राखिएको छ भने हवाई गस्तीले पनि उहाँको शवयात्राप्रति सम्मानस्वरुप पुष्पवृष्टि गरिरहेको छ ।
सिङ्गापुरको संसद भवनदेखि उहाँको शवलाई हिँडाइएको छ र अन्त्येष्टि गरिने स्थलसम्म दशौँ हजार नागरिकले उहाँप्रति लामलागेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
अन्त्येष्टि समारोहमा विश्वका कतिपय नेताहरुको सहभागिता हुने बताइएको छ । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन, दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हे, अस्ट्रेलियाली प्रधानमन्त्री टोनी एबोट, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सो समारोहमा पुग्नुभएको बताइएको छ ।
त्यसैगरी इन्डोनेसियाली राष्ट्रपति जोको विदोदो, बु्रनाइका नरेश सुल्तान हसनल बोल्किया तथा मलेसियाली नरेश सुल्तान अब्दुल हलिम मुआदजान साह अन्त्येष्टिमा सम्मिलित हुने विदेशी उच्च पदस्थ अधिकारी हुनुहुन्छ ।

शनिबार उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न उहाँका पुरानामित्र तथा अमेरिकाका पूर्व विदेशमन्त्री हेन्री किसिन्जर पुग्नुभएको थियो । उहाँप्रति श्रद्धाञ्जलीका लागि विश्वका कयौँ नेताहरु यसअघि नै त्यहाँ पुगिसक्नुभएको थियो । आइतबार एक भब्य समारोहमा उहाँको अन्त्येष्टि हुने कार्यक्रम रहेको समाचार यसअघि नै सरकारले सार्वजनिक गरेको थियो । राज्यद्वारा आयोजना गरिने उहाँको अन्त्येष्टिमा एसिया तथा प्रशान्त क्षेत्रका नेता तथा विश्वका उच्च पदाधिकारीको उपस्थिति रहनेछ ।
स्वर्गीय लीका छोरा प्रधानमन्त्री ली सिङ लुङले फेस बुकमा जनताले आफ्ना पिताप्रति देखाएको अत्यधिक सम्मान तथा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न देखाएको चाहनाले आफू हर्षित भएको उल्लेख गर्नुभएको छ ।
नागरिकहरु श्रद्धाञ्जलीका लागि जाँदा सरकारलाई त्यसको व्यवस्थापन गर्न निकै नै हम्मे परेको थियो । जनतालाई लीलाई संसदमै गएर श्रद्धाञ्जली व्यक्त गर्नुभन्दा संसदबाहिरबाटै सम्मान व्यक्त गरिदिन सरकारले आग्रह गरेको थियो र यसलाई केही नागरिकले स्वीकार पनि गरेका थिए ।

ली सन् १९५९ देखि ३१ वर्षसम्म सिङ्गापुरको प्रधानमन्त्री हुनुभएको थियो । उक्त वर्ष बेलायतले सिङ्गापुरलाई स्वतन्त्रता दिएको थियो । यसपछि अर्को २० वर्षसम्म उहाँ मन्त्रिपरिषद्को सल्लाहकारको रूपमा रहनुभएको थियो ।
लीले सिङ्गापुरलाई आर्थिक समृद्धितर्फ लैजानका लागि कडा शासन सञ्चालन गर्नुभएको थियो । वर्तमान सिङ्गापुरका संस्थापक भएकोले उहाँलाई सिङ्गापुरका नागरिक राष्ट्रपिताका रुपमा सम्मान गर्ने गर्छन् । रासस/एएफपी













प्रतिक्रिया