१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीले ‘मरेमरोस्’ भनेकै हुन त ?, केसी भन्छन्, ‘मलाई थाहा छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DR_govinda_KCकाठमाडौं, १५ चैत । चिकित्साशिक्षा र मेडिकल कलेज सम्बन्धनको स्तरीयतालाई मुख्य माग बनाई विगत सात दिनदेखि अनशनमा बसेका चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा गोविन्द केसीले ‘प्रधानमन्त्रीले मरोस् भन्दैमा आफू नमर्ने र मर्नै लागे पनि तीन करोड नेपाली जनताले बचाउने’ बताएका छन्।

केसीले विगतका सम्झौता तोडेर यसअघि नै प्रधानमन्त्रीले आफूलाई मारिसकेकाले अब त्यसो भन्दैमा केही फरक नपर्ने बताए।

‘प्रधानमन्त्रीले मसँग भएका सम्झौता धेरैपटक तोड्नुभयो, त्यस्तो गैरजिम्मेवारीपूर्ण कुरा गर्नुभएको पनि थाहा छ’, शनिबार दिनभर विभिन्न राजनीतिक दलका नेताकार्यकर्तासँग भेटेर थकित भएका केसीले भने, ‘उहाँ (प्रधानमन्त्री) ले मरोस् भन्दैमा म यति छिट्टै र सजिलै मर्नेछैन, मलाई बचाउन नेपाली जनता आइरहनेछन्।’

केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको र माग जायज रहेकाले पूरा गर्न तत्काल आवश्यक कदम उठाउन आग्रह गर्न पुगेको नागरिक समाजको टोलीलाई बिहीबार प्रधानमन्त्री सुशील कोइरालाले डा केसीप्रति लक्षित गर्दै ‘मरे मरिरहन्छन् नि, म के गरौं त’ भन्ने आक्रोश व्यक्त गरेका थिए।

यसबारे शनिबार अन्नपूर्णमा प्रकाशित समाचारबारे प्रतिक्रिया व्यक्त गर्दै प्रधानमन्त्रीको निजी सचिवालयले ‘गमभीर ध्यानाकर्षण भएको’ उल्लेख गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। प्रधानमन्त्रीले डा केसीलाई लक्षित गर्र्दै दिएको आक्रोशपूर्ण अभिव्यक्तिबारे भने निजी सचिवालयले केही उल्लेख गरेको छैन।

सात दिनको अनशनले गलित हुँदै गएका डा केसीले भने, ‘उहाँको त्यस्तो अभिव्यक्तिले मलाई बाँच्ने र नेपाली जनताका लागि लड्ने साहस मिलेको छ।’ प्रधानमन्त्रीले धोका दिएकै कारण पाँचौंपटक अनशन बस्न बाध्य भएको उनले बताए।

‘उहाँले मेरो अनशन तोडाउन पटकपटक धेरै आश्वासन दिनुभयो, प्रतिबद्धता पनि व्यक्त गर्नुभयो, लिखित सम्झौतासमेत गर्नुभयो, तर ती सबै भुल्दै अर्कैको कुरा सुनेर गलत निर्णय गर्नुभएको छ, जुन सच्चिनुपर्छ’, उनले भने।

आफूलाई भेट्न शनिबार अस्पताल पुगेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलसँग केसीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति दुस्खेसो पोखेका थिए।

पौडेलले भने प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिएजस्तो आफूलाई नलागेको बताए। केसीले पौडेललाई तपाईं यहाँ सहानुभूतिका लागि आउनुभएको हो कि समर्थन गर्न भनेर सोधे।
जबाफमा पौडेलले दुवैका लागि आएको बताए।

शनिबार बिहानैदेखि डा केसीलाई भेट्न टिचिङ अस्पताल परिसरमा सरकारका मन्त्रीहरू र विभिन्न दलका नेताहरूको लर्को लाग्यो।

भेट्न पुगेका कानुनमन्त्री नरहरि आचार्य र वनमन्त्री महेश आचार्यलगायत सरकारका अधिकारीहरूलाई केसीलाई ‘आफू अझै साता दिन बोल्न र कुरा गर्न सक्ने भएकाले माग सम्बोधनसहितको पत्र बोकेर मात्र आउन’ आग्रह गरेका थिए।

‘माग पुरानै हुन्, फकाउनभन्दा पनि काम के भयो त्यो भन्न आउनुहोस’, केसीले कानुनमन्त्री आचार्यसँग भने, ‘जिम्मेवार व्यक्ति भएकाले तपाईंहरूले नै मेरो माग पूरा गर्ने हो।’

एमाले उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले नयाँ मेडिकल कलेजको सम्बन्धन दिनुपर्ने पार्टीको आधिकारिक माग नभएको केसीसँग बताए।

केसीलाई भेट्न कांग्रेसका नेता प्रकाशशरण महत, एमाओवादीका नेता अग्नि सापकोटा र नन्दकिशोर पुन पनि अस्पताल पुगेका थिए। उनलाई भेट्न र उनको मागप्रति समर्थन जनाउनेको भीड बढेपछि व्यवस्थित गर्न सुरक्षागार्डलाई हम्मेहम्मे भएको थियो।

केसीको मागलाई समर्थन गर्दै शिक्षण अस्पतालका आवासीय चिकित्सकले शुक्रबारदेखि ओपीडी सेवा दिएका छैनन्।

आईओएमका विद्यार्थी बिहीबारदेखि अध्ययन बहिष्कार गर्दै आन्दोलनमा होमिएका छन्। नेपाल चिकित्सक संघले केसीको माग सम्बोधन नभए मुलुकभरको स्वास्थ्यसेवा ठप्प पार्ने चेतावनी दिइसकेको छ।