– रबिना बोहरा
बागलुङ, १० चैत । नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले मुलकलाई प्रतिकुल प्रभाव नपर्ने गरी संविधान निर्माण गर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले गरेको पत्रकार सम्मेलनमा बोल्दै विष्टले सबैको धारणा अनुसारको र जनतालाई मान्य हुने संविधान निर्माण गर्ने बताउनुभयो ।
बिष्टले पार्टीको स्वार्थलाई त्यागेर भए पनि जनताको लागी संविधान ल्याउन लचकता अपनाउने भन्दै बागलुङ क्षेत्र नम्बर १ की उमेद्वार मनकुमारी केसीलाई जिताउनका लागी सबैसंग आग्रह गर्नुभएको थियो ।
यस्तै उहाले दलहरुबीच तत्काल सहमति नजुटे प्रकृयाबाट संविधान बन्ने भन्दै सहमतिको नाममा मुलुकलाई गतिरोधको अवस्थामा राख्न नसकिने उल्लेख गर्नुभयो ।
उहाँले नेकपा (एमाले) सहमतिकै आधारमा संविधान ल्याउने पक्षमा रहेकोले विवादित विषयमा लचकता अपनाउन तयार रहेको बताउनुभयो ।
‘हामी सहमतिकै पक्षमा छौं, संविधानसभा बाहिर रहेका दलहरुको समेत भावना समेटेर सबैले अपनत्व लिने खालको संविधान ल्याउन चाहान्छौं’ विष्टले भन्नुभयो । विष्टले साम्प्रादायिक सद्भाव, राष्ट्रिय एकता, सामाजिक न्याय र समानतासहितको संविधान बन्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले दलहरुबीच सम्वादको थालनी भएकोले छिटै सहमति बन्ने र संविधान सभा पनि सुचारु हुने विश्वास व्यक्त गर्नुभयो । ‘अब संविधानसभा बैठक डाक्नुपर्छ, सहमति पर्खेर संविधान सभाको सार्वभौमसत्तालाई कुण्ठित गर्न मिल्दैन’ विष्टले भन्नुभयो ‘संविधान निर्माणको सुरु नहुँदा अस्थिरता, अराजकता र संक्रमणकाल लम्बिदैँ गएको छ ।’
सहमति बन्न नसकेको अवस्थामा सुरु हुने बहुमतिय प्रकृयामा पनि अधिकतम सहमति जुटाइनुपर्ने विष्टले उल्लेख गर्नुभयो । एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चालाई सडक सङ्घर्ष त्यागी वार्ता र सम्वादमा उदार भएर लाग्न आग्रह गर्नुभयो ।
फरक प्रसंगमा विष्टले नेकपा (एमाले) को भातृ संगठनमा देखिएको विवाद पार्टीको सिद्धान्त, विधी र प्रकृया मिच्दा निम्तिएको उल्लेख गर्नुभयो ।
संगठनात्मक विवादमा केही नेता पनि मुछिएको भन्दै त्यस विषयमा पार्टीमा समीक्षा, छलफल र ध्यानाकर्षण हुने बताउनुभयो । उहाँले पार्टी कुनै अमुक व्यक्ति या नेताको आधारमा नचल्ने जिकिर गर्नुभयो ।
विष्ट आगामी चैत २८ गते बागलुङ क्षेत्र नं. १ मा हुने संविधान सभा सदस्य उपनिर्वाचनका लागि केन्द्रीयस्तरको निर्वाचन परिचालन समितिको संयोजकको रुपमा बागलुङमा खटिनुभएको छ ।
कार्यक्रम प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा धौलागिरी ईन्चार्ज गणेश पौडेलको अध्यक्षता र नेकपा एमाले क्षेत्र नम्बर १ को उपनिर्वाचनका प्रचार प्रसार प्रमुख रामबहादुर जिसिको सञ्चालनमा सम्पन्न भएको थियो ।












प्रतिक्रिया