१ कार्तिक २०८३, आइतबार

केपी ओली र माधव नेपालबीच कार्यविभाजनमा यस्तो छ किचलो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-sharma-oli-Madhav-Nepalकाठमाडौं, १० चैत । अध्यक्ष केपी ओली निकट व्यक्तिहरुलाई मात्र महत्वपूर्ण जिम्मेवारी दिने ढंगले प्रस्ताव ल्याएको भन्दै माधव नेपाल समूहले आपत्ति जनाएपछि एमाले स्थायी समितिले सोमबार पनि पार्टी भित्रको कार्यविभाजनको टुंगो लगाउन नसकेको आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

महाधिवेशन सकिएको झण्डे नौ महिना वितिसक्दा ओली र नेपाल समूहको विवादकै  कारण कार्यविभाजन अल्झिरहेको हो । दुबै समूहले महत्वपूर्ण विभाग र इन्जार्जहरुमा आफ्ना निकट व्यक्तिहरुलाई लैजान खोजेका छन् ।

ओली निवास बालकोटमा बसेको स्थायी समितिको बैठकमा महासचिव इश्वर पोखरेलले पेश गरेको कार्यविभाजनकेा प्रस्ताव पार्टी भित्रका महत्वपूर्ण विभाग, अञ्चल र जिल्ला इन्चार्जहरु ओली पक्षका नेताहरुलाई दिने खालको थियो । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमै महासचिवले उक्त प्रस्ताव पेश गरेका थिए।

सचिवालय  बैठकमै माधव नेपाल समूह निकट उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई लगायतले  आपत्ति जनाएपछि स्थायी समितिमै छलफल गर्ने भन्दै नेताहरु दिउँसो ओली निवास बालकोट पुगेका थिए।

नेता माधव नेपाल अनुपस्थित बैठकमा निकै छलफल भएपनि कुरा मिल्न नसकेपछि बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमले प्रस्तावलाई परिमार्जन गरी मिलेर जानुपर्ने धारणा राखेका थिए।

उनीहरुले स्थायी समिति र पोलिटब्यूरोजस्ता निकाय त सहमतिमा चयन भएको भन्दै कार्यविभाजनलाई ठूलो विवादको बिषय बनाउन नहुने धारणा राखेका थिए। अध्यक्ष र अन्य नेताहरुले पनि फराकिलो सोचाई राखेर जानुपर्ने सुझाव उनीहरुको थियो।

त्यसपछि महासचिवले पेश गरेको प्रस्तावलाई बैठकमा आएको सुझावहरुको आधारमा मिलाउने गरी सोमबारको बैठक टुंगिएको छ।  ‘महाधिवेशनको आग्रहबाट मुक्त हुन नसकेको हो कि भन्ने खालको कुरा साथीहरुले गर्नुभएको छ तर अध्यक्षले कुनै आग्रह पूर्वाग्रह छैन भनेर बैठकमा स्पष्ट पार्नुभएको छ’ बैठकपछि सचिव प्रदीप ज्ञवालीले भने,’बैठकमा आएको सुझावहरुलाई समेटेर  मंगलबार प्रस्ताव पेश गर्ने कुरा छ ।’

बैठकमा अध्यक्ष ओलीले प्रस्ताव ल्याउन ध्यान नपुगेको हुन सक्ने उल्लेख गर्दै सबै बिषयलाई शंकाको दृष्टिले मात्र नहेर्न आग्रह गरेका थिए । फेरि अध्यक्ष हुने आफ्नो इच्छा नरहेकाले आफूलाई गुटबन्दी गरेर हिड्नुपर्ने कुनै आवश्यकता नरहेको उल्लेख गर्दै ओलीले नमिलेका कुरा मिलाएर जान सकिने धारणा राखेका थिए।

तर बैठकमा आएको प्रस्ताव गुटबन्दीकै शैलीमा आएको सचिव भट्टराईले बताए । ‘यो प्रस्तावले पार्टीको बृहत्तर एकतालाई बोक्दैन, स्पष्ट मापदण्ड विना प्रसताव ल्याएको छ’ सचिव भट्टराईले भने, मापदण्ड बनाएर मात्र प्रस्ताव ल्याउनपर्छ र अहिलेको प्रस्तावमा व्यापक संशोधन गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ।’

स्थायी समितिमा सोमबार पेश भएको प्रस्तावमा अध्यक्ष ओलीले स्कुल विभाग आफै चलाउने र स्थायी समिति सदस्य शंकर पोखरेललाई त्यसको उप्रमुख बनाउने उल्लेख छ । त्यस्तै उपाध्यक्षहरुमा बामदेव गौतमलाई मध्यपश्चिमाञ्चल, विद्या भण्डारी मध्यमाञ्चल, युवराज ज्ञवाली पूर्वाञ्चल, अष्टलक्ष्मी शाक्य पश्चिमाञ्चल र भिम रावललाई सुदरपश्चिमाञ्चल र प्रवासको इन्चार्ज बनाउने उल्लेख छ ।

त्यस्तै महासचिव इश्वर पोखेरेलले समग्र पार्टी कामको संयोजन, उपमहासचिव विष्णु पौडेललाई पार्टी विभाग, संगठनहरुहरुको संयोजन, उपमहासचिव घनश्याम भुसाललाई राज्य सञ्चालनसंग सम्बन्धि विभागहरुको अनुगमनको जिम्मेवारी दिने उल्लेख छ ।

त्यस्तै सचिवहरु मध्ये प्रदीप ज्ञवालीलाई केन्दि्रय सचिवालय, पृथ्वी सुब्बा गुरुङलाई संगठन विभाग, भिम आचार्यलाई राजकीय मामिला, गोकर्ण विष्टलाई मोर्चा संगठन र योगेश भट्टराईलाई प्रचार विभागको जिम्मेवारी दिने उल्लेख छ ।  १७ वटा अञ्चल इन्जार्ज मध्ये अधिकांशमा ओली निकटलाई जिम्मेवारी दिने प्रस्ताव  छ ।