काठमाडौँ, ९ चैत । नेपाल प्रहरीले संगीता मगर र सीमा बस्नेतमाथि एसिड प्रहार गरेको आरोपमा पक्राउ परेका जीवन बिकविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा ज्यान मुद्धा दर्ता गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी दिनेश आर्चायका अनुसार मलुकी ऐनको ज्यानसम्बन्धी महलको ज्यान मार्ने उद्योगअन्तर्गतको अपराधमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट १५ दिनको अनुमति लिइएको छ । त्यस्तै जीवनले प्रहरीले सार्वजनिक गरेको स्केच नमिलेपछि उनी पक्राउ नपर्नेबाट ढुक्क थिए ।
स्केच नमिलेपछि आफू सुरक्षित महसुस रहेको उनले प्रहरी समक्ष बयान दिएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
दुई किशोरीमाथि एसिड प्रहार गर्ने जीवन विकले प्रहरीद्वारा सार्वजनिक गरिएको स्केचमा आफ्नो हुलिया नमिलेपछि आफू पक्राउ नपर्नेमा ढुक्क रहेको बयान दिएका छन् । प्रहरीले प्रत्यक्षदर्शीले बताएको आधारमा आक्रमणकारीको स्केच बनाएर सार्वजनिक गरेको थियो । प्रहरीका अनुसार स्केचमा सुन्तला रङको हुड लगाएको हुलिया उल्लेख गरिए पनि जीवनले एसिड प्रहार गर्न जाँदा खैरो रङको हुड लगाएका रहेछन् । महानगरीय प्रहरी अपराध महाशाखाका डीउस्पी रमेश थापाका अनुसार जीवनले आफ्नो सिरानीमुनि उक्त स्केच छापिएको पत्रिका लुकाएर राखेका रहेछन् । ‘प्रहरीले स्केचमा हुलिया मिलाउन सकेको रहेनछ भनेर पत्रिकामा छापिएकै दिन पनि उनी आफैं मज्जाले हाँसेका रहेछन्,’ थापाले भने,‘स्केच नमिलेपछि पक्राउ नपर्नेमा ढुक्का हुँदाहुँदै पनि प्रहरी देख्नासाथ आफूलाई नै खोजेको हो कि भन्ने भान उनमा पर्ने गरेको रहेछ ।’
एसएलसी परीक्षाका लागि ट्युसन पढ्न गएका बेला गत फागुन १० गते बिहान बसन्तुपुरस्थित ट्युसन सेन्टरमा जीवनले संगीता मगर र सीमा बस्नेतमाथि एसिड प्रहार गरेका थिए । डीएसपी थापाको टोली विशेष सूचनाका आधारमा पक्राउ गर्न टोखास्थित किरण महर्जनको घरमा पुग्दा जीवन खाना खाएर सुतिसकेका थिए । प्रहरीले हामी तिमीलाई पक्राउ गर्न आएका हौं,तिम्रो नाम जीवन विक होइन? भनेर सोधेपछि उनी अक्क न बक्क परेका थिए । संगीतालाई चिन्छौं भनेर प्रहरीले सोधेपछि उनले सबै काहानी आफैं बताएका थिए । जीवनले सोधपुछका क्रममा आफ्नो लक्ष्य संगीतामाथि मात्रै भए पनि सीमासमेत घाइते भएकामा दुःख व्यक्त गरेका थिए । उनी घटनापछि बजारबाट पत्रिका किनेर पटकपटक पढ्थे । राति सुत्दा पनि पत्रिका पढेर आनन्द लिई निदाउने गरेको बयान उनले प्रहरीलाई दिएका छन् ।
















प्रतिक्रिया