काठमाडौँ, ८ चैत । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण कार्यमा अवरोध गरिरहेका मजदुरलाई तत्काल समस्या समाधान गर्न आग्रह गरेको छ ।
आयोजनाले विज्ञप्ति प्रकाशित गरी गत फागुन २९ गतेदेखि आयोजनामा सेयर माग गर्दै जारी राखिएको आन्दोलन स्थगित गरी वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेको छ । यस्तै, आयोजनाले दोलखा जिल्लावासीका लागि छुट्टयाइएको १० प्रतिशत सेयर दिने निर्णय पनि तत्कालका लागि स्थगित गरेको जनाएको छ ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको आज बसेको सञ्चालक समितिको बैठकले समस्या समाधानका लागि थप समय लाग्ने भएकाले तत्कालका लागि सेयर प्रक्रिया स्थगित गरिएको जनाएको हो ।
स्थानीयबासीले उठाएको मागउपर विधिसम्मत् तवरले छलफल गर्न र समस्या समाधान गर्न आयोजना प्रयत्नशील रहेको जनाएको छ ।
आयोजनाले सेयर निष्काशन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको जानकारी समेत नेपाल धितोपत्र बोर्डलाई गराएको जनाएको छ ।
मजदुरको माग सम्बोधन गर्न आयोजना तयार रहेको स्पष्ट पार्दै समस्या समाधान गरी आयोजनाको कामलाई प्रभावित हुन नदिन समेत ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख छ । सेयर भर्न पाउनुपर्ने माग गर्दै मजदुरले आन्दोलन गर्दा आयोजनाको काम प्रभावित भएको छ ।
यसैबीच, दोलखाबाट प्राप्त समाचारअनुसार आयोजनाको दैनिक कामकाज पुनः सुचारु गर्न सम्बद्ध सबैको सहयोग अति जरुरी भएको हुनाले स्थानीयबासीद्वारा प्रवेशमार्गको सिंगटीलगायत अन्य क्षेत्रहरुमा भएको सवारी आवागमनमा भएको अवरोध तत्काल स्थगन गर्न तथा आयोजनाको अवरुद्ध मुख्य निर्माणकार्य सुचारु गर्न आयोजनाले आह्वान गरेको छ ।
आयोजनाबाट प्रभावित गाविसले थप सेयर पाउनु पर्ने माग गर्दै विगत एकहप्तादेखि दोलखाको सिंगटी आसपासका वासिन्दाले आयोजनाको मालबाहक तथा सवारीसाधनमा अवरोध गरी आन्दोलन गर्दै आएका छन् । त्यसैगरी, सेयर पाउनु पर्ने माग गर्दै आयोजनामा कार्यरत सिनो हाईड्रो अन्तर्गतको जिफन्ट आवद्ध नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियनले सुरुङ तथा बाँध निर्माणको काम रोेकेका थिए । मजदुर र स्थानिय प्रभावित गाविसका वासिन्दाको अवरोधका कारण आयोजनामा अहिलेसम्म २२ करोडभन्दा बढी नोक्सानी भएको सम्बद्ध अधिकारीहरुले बताएका छन् ।
अन्य सञ्चयकोषका कर्मचारी, सञ्चयकर्ता, राष्ट्रिय विमा संस्थान, नेपाल टेलिकम, आयोजनाका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारीहरुको हकमा भने सेयर संकलन चैत १५ सम्म जारी रहने बताइएको छ ।
















प्रतिक्रिया