लखनऊ, ७ चैत । सन् २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कारपछि महिलाका लागि तयार गरिएको हलुको रिभोल्भर पुरुषबीच लोकप्रिय भएको देखिएको छ ।
यस रिभोल्भरको नाम निर्भिक रहेको छ र हालसम्म यस्ता ४५० बन्दुक बिक्री भए पनि तीमध्ये केब २८ वटा मात्र महिलाले खरिद गरेको देखिएको छ ।
उक्त रिभोल्भरको विकास उत्तरी नगर कानपुरमा सरकारी हतियार कारखानामा भएको थियो । एक छात्राको सामूहिक बलात्कारपछि मृत्यु भएपछि उक्त रिभोल्भर तयार भएको थियो ।
उक्त घटनाले राजधानीमा महिलाको सुरक्षाको विषयमा व्यापक रुपमा आशङ्का गरिएको थियो ।
यस विषयमा कारखानाका कोही पनि टिप्पणी गर्न तयार देखिएनन् ।
अर्कोतिर महिला अधिकारकर्मीहरुले एक लाख ४० हजार भारतीय रुपैयाँ लागत पर्ने उक्त हतियार भारतका बहुसङ्ख्यक महिलाले खरिद गर्नै नसक्ने जानकारी दिएका छन् ।
अल इन्डिया डेमोक्र्याटिक विमन्स एसोसिएसनका स्थानीय प्रमुख मधु गर्गले यो मूल्यमा महिलाले हतियार किन्ने छन् भनी अपेक्षा गर्नु क्रूर व्यङ्ग्य भएको बताउनुभयो ।
अर्की कार्यकर्ता रेखा वर्माले भारतमा महिलाविरुद्ध हिंसाको समस्याको उत्तर बन्दुक नभएको बताउनुभयो ।
उहाँले बलात्कार कानुन तथा व्यवस्थाको समस्या नभएको र महिलाको झोलामा रिभोल्भर राख्दा बलात्कार रोक्न नसकिने बताउनुभयो ।
उहाँले यसका लागि मानसिकतामा परिवर्तन हुनुपर्ने, कानुन कडा बनाउनुपर्ने र न्याय प्रणालीलाई छिटो बनाइनु पर्ने बताउनुभयो । रासस÷एएफपी













प्रतिक्रिया