बेइजिङ, ७ चैत । चीनको वित्तीय केन्द्र साङघाइमा सम्बन्ध विच्छेद गरेका दम्पती पुनःविवाह गर्न थालेको देखिएको छ । यसअघि सम्पत्ति करबाट जोगिन उनीहरुले सम्बन्ध विच्छेद गरेको बताइएको छ ।
सन् २०१३ मा चीनमा आवासीय सम्पत्ति विक्री गरी नाफा कमाउने सम्पत्ति धनीलाई २० प्रतिशत कर लगाउने व्यवस्था भएको थियो । त्यस समयमा यी सम्पत्तिको मूल्य बढिरहेको थियो र यसैले त्यसमा अनावश्यक रुपमा नाफा कमाउने अवस्था नआवस् भनी त्यस प्रकारको निर्णय गरिएको थियो ।
कुनै दम्पत्तिसँग दुई आवासीय सम्पत्ति भएमा र पति तथा पत्नीबीच सम्बन्ध विच्छेद भई उनीहरु प्रत्येकको नाममा एक मात्र आवसीय सम्पत्ति भएकोमा उक्त सम्पत्ति बिक्री गर्दा कर नलाग्ने व्यवस्था भएकाले यस्तो देखिएको बताइएको छ ।
चाइना डेलीले प्रकाशन गरेको समाचारमा उक्त करको कारण चीनका नगरहरुमा सम्बन्ध विच्छेदको घटना एक्कासी बढेको जानकारी दिएको छ ।
साङ्घाईमा गत वर्ष सम्बन्ध विच्छेद भएका परिवारबीच पुनःविवाह भएको १७ हजार २८६ घटना दर्ता भएको उक्त पत्रिकाले उल्लेख गरेको छ । सन् २०१२ मा यस्ता घटना आठ हजार ६८ भएको देखिएको थियो ।
यस्ता घटना नानजिङमा समेत देखिएको छ । उनीहरुले करको कमजोरीको फाइदा प्राप्त गरी पुनःविवाह गर्ने गरेको चाइना डेलीले जानकारी दिएको छ ।
चीनको विवाह तथा परिवार परामर्श केन्द्रका उपनिर्देशक मिङ लीले नक्कली रुपमा सम्बन्ध विच्छेद गरेका व्यक्तिबीच पुनःविवाहको घटना असाधारण दरमा बढेको बताउनुभयो भनी पत्रिकाले उल्लेख गरेको छ ।
पत्रिकामा केही सम्बन्ध विच्छेदका घटनामा दम्पतीका आमाबाबु तथा केटाकेटी पनि कार्यालयमा आउने गरेको र उनीहरुले यसलाई खुसीको घटनाको रुपमा लिएको जस्तो देखिएको मिङले बताउनुभयो भनी उल्लेख गरिएको छ ।
गत वर्ष नानजिङमा सम्बन्ध विच्छेद गरेका २५ हजार दम्पतीबीच पुनःविवाह भएको देखिएको छ ।
पत्रिकाले हाल सम्पत्ति बेचबिखनको दर घटेकाले सम्बन्धविच्छेदका घटना पनि घटेको जानकारी दिएको छ ।
सन् २०१० मा चीनका प्रमुख नगरमा परिवारलाई एक आवासीय सम्पत्ति खरिद गर्न सीमा तोकिएको र उनीहरुले दोस्रो आवासीय सम्पत्ति खरिद गर्दा उच्च दरको ब्याज तिर्नुपर्ने र बाधा व्यहोर्नुपर्ने अवस्था देखिएको थियो ।
यस्ता सम्पत्तिको मूल्य वृद्धि भएकोमा जनताको क्रुद्ध भएका थिए ।
हालका महिनामा यो व्यवस्थालाई हटाइएको छ र यसबीच आवासीय सम्पत्ति बिक्रीको दर पनि घटेको देखिएको छ । रासस/एएफपी













प्रतिक्रिया