सोल (दक्षिण कोरिया), ७ चैत । रोजगारीका लागि कोरिया आएका नेपाली कामदारले आत्महत्या गर्ने क्रम बढेको छ ।
केहि दिन अघिमात्र मोरङ बेलबारी गोठगाँउका सुरेश नेपालले झुण्डिएर आत्महत्या गरे ।
त्यस्तै अघिल्लो महिना झापा धुलाबारीका छबिलाल भण्डारी र खोटाङ मौवाबोटका जयकुमार राईले झुण्डिएर आत्महत्या गरे ।
पछिल्लो ढेड महिनामा ३ जनाले झुण्डिएर आत्महत्या गरेका हुन् ।
सन् २००७ मा नेपाली दूताबास स्थापना भए यता बिभिन्न कारणले ७३ जनाले ज्यान गुमाए । ती मध्ये २८ जनाले आत्महत्या गरेका थिए ।
आठ बर्षको अवधिमा वैवाहिक सम्बन्धमा आएका २ महिला सहित २८ जनाले बिभिन्न कारणले आत्महत्या गरेका हुन् ।
ती महिला कोरियन पुरुषसंग विवाह गरेर यहां आएका थिए भने पुरुष सबै कामदारको रुपमा आएको कान्तिपुर दैनिकले छापेको छ ।
कमाएर सुन्दर भविष्य बनाउन यहाँ आएका नेपाली कामदारले आत्महत्या गर्नुको केहि कारणहरू रहेको रिपोर्टिङका क्रममा पत्ता लागेका छन् ।
कम्पनी ब्यबस्थापकको अभद्र व्यवहार, पारिवारिक किचलो, असफल प्रेम, साथीभाइको अबहेलना, प्राणघातक रोग लागेको शंका, उमेरमा अपरिपक्वता जस्ता कारणले आत्महत्या गरेको विवरणहरु रहेका छन् ।
प्रेम असफल भएका कारण पोखराका नबिनकुमार गुरुङले मानसिक सन्तुलन गुमाएका थिए । उनको अवस्था असामान्य भएपछि कम्पनीले बिदामा नेपाल पठाउन लागेको थियो तर उनि नेपाल गएनन् बरु ‘जे पनि हुनसक्छ’ भन्दै दूताबासका कर्मचारीलाई फोनमा धमक्याए ।
त्यसको केहि घण्टा नबित्दै एक अपार्टको चौध तलाबाट हाम्फाले । प्रेम असफल भएकै कारण ओमप्रसाद शेरचनले पनि आत्महत्याको बाटो रोजे । कामदारले आत्महत्या गर्नमा पारिवारमैत्री नहुनु पनि प्रमुख कारण देखिएको छ ।
आफुले कमाएको पैसा श्रीमतीसंग रहने कि अन्य सदस्यसंग रहने भन्ने बिवादलाई लिएर एक जनाले झुण्डिएर जीवनलीला समाप्त गरे ।
गलामा पासो लगाउन अघि धुलाबारीका छबिलाल भण्डारी लेखेको तीन पेजको सुसाइट नोटमा लेखिएको कुराले पनि यसलाई अरु प्रमाणित गर्दछ ।
‘बिरानो ठाउंमा धन कमाउन आएँ तर पैसाभन्दा आफुलाई एक्लो पाएँ’, भण्डारीले लेखेका छन् । उनले आशा गरेका मान्छेहरुबाट पनि सहयोग नपाएको भन्दै आफु निरिह हुन पुगेको सुसाईट नोटमा थपेका छन् ।
त्यस्तै घरमा फोन गरेर मानसिक सन्तुलन गुमाएका ज्ञानबहादुर गोतामेले ग्रिन हाउसको डण्डीमा पासो लगाए ।
तत्काल रोजगारदाताले उद्धार गरे पनि केहि दिनपछि अस्पतालमा अन्ततः उनको मृत्यु भयो । यी उदाहरणबाट घर परिवार, समाज, छोडेर हरेक क्षण अरुको आदेशमा यन्त्रवत काम गरिरहेका सदस्यको मनोविज्ञान बुझ्नुपर्दछ ।
परिवारले उनीहरुलाई एक्लोपना महसुस नहुने गरि निरन्तर सदभाव, माया स्नेह र दिइरहनुपर्ने देखिन्छ ।
एउटै कम्पनीमा काम गर्ने साथीहरु बीच मित्रमैत्री वातावरण भएन भने मान्छेले ज्यान त्याग्न पनि तयार हुँदा रहेछन भन्ने उदाहरण गुल्मीका पदम पन्तले दिएर गए ।
उनले १८ हरफको सुसाइट नोटको छैटौं पंक्तिमा ‘सबै जनाले खिसी गरे त्यसैले’ भन्ने वाक्य लेखेका छन् । यो घटनाले एउटै कम्पनीमा धेरै नेपाली कामदार भएकाहरुलाई साथीप्रति एकपटक सोच्न बाध्य बनाएको छ ।
न्यून तलब पाएको र कम्पनि साहुनीले गरेको अभद्र व्यवहारका कारण एक बर्षअघि डोटीका २४ बर्षीय मोहन बिष्टले झुण्डिएर आत्महत्या गरेका थिए भने चार बर्षअघि लमजुङको बाहुनडाँडा गाविस ५ निवासी धनराज गुरुङले साहुले कामबाट निकालेपछि आत्महत्याको बाटो रोजेका थिए ।
थेगु छेथन्दोङगको कपडा कारखानाका कामदार गुरुङलाई साथीहरुको कोठामा बस्दै आएका थिए ।
उनलाई साहुले मानसिक अवस्था ठीक नभएको आरोप लगाएर कामबाट निकालेका थिए ।
आत्महत्या गर्नुअघि उनले आफ्ना भाइलाई र कारखानाका साहुको नाममा दुई पत्र लेखेका थिए ।
साहुलाई लेखेको पत्रमा साहुले जबरजस्ती कामबाट निकाल्न खोजेको र मानसिक पीडा दिएको उल्लेख थियो ।
त्यस्तै आफुलाई प्राण घातक रोग एड्स लागेको भन्दै मानसिक रुपमा विक्षिप्त भएका खोटाङका जयकुमार राईले झुण्डिन अघि आफैंलाई जथाभावी छुरी प्रहार गरेका थिए ।
उनको स्वस्थ्य परीक्षण गर्ने चिकित्सक र कम्पनि मालिकले त्यस्तो संक्रमण नभएको बताए पनि बिश्वास गरेनन ।
संगै काम गर्ने साथिहरुले पनि उनलाई सकारात्मक कुरा धेरै सुझाए तर उनले कसैको कुरा सुनेनन् ।
साथीहरुलाई छक्याएर उनी बिजुलीको पोलमा झुण्डिए । आत्महत्या गर्नुको अर्को कारण अपरिपक्व उमेरलाई पनि लिन सकिने देखिएको छ ।
किनभने आत्महत्या गर्ने २८ मध्ये २४ जना २१ देखि २५ बर्ष उमेर समुहका थिए । उनीहरु मध्ये आत्महत्या गर्ने मध्ये ६५ प्रतिशत अबिबाहित, ९० प्रतिशत कोरिया प्रवेश गरेको बर्ष दिन नपुगेका र कृषि क्षेत्रमा भन्न्दा औद्योगिक उत्पादन क्षेत्रमा कार्यरतले बढि आत्माहत्या गरेका थिए ।
उनीहरु मध्ये अधिकांशले प्लस टु शिक्षा मात्र हासिल गरेका थिए । यो उमेर समुह मान्छेले जिबनको करियर बनाउने समय हो । चंचल स्वभावबाट बिस्तारै परिपक्वता तर्फ लम्किने मोड पनि हो ।
यो उमेरमा सिर्जना भएका तनावलाई सहि ब्यावस्थापन गर्न नसकेकै कारण आत्महत्याको बिकल्प अपनाएको देखिन्छ । कोरियामा दूताबास स्थापना हुन पूर्व कति नेपाली कामदारले ज्यान गुमाए त्यसको स्पस्ट अभिलेख कतै छैन ।
नेपाली कामदारको संख्यासंगै मृत्यु र आत्महत्या बढेपछि भने दूताबासले २०१२ मा पाँच सदस्यीय अध्ययन समिति गठन गरेर कारण खोज्ने प्रयास गरेको थियो ।
समितिले ढेड बर्षपछि बुझाएको प्रतिबेदनमा मनोवैज्ञानिक शिक्षाको कमिले आत्महत्या बढेको उल्लेख गरिएको छ ।
उक्त समितिले भाषाको समस्या, कामको अज्ञानता, सास्कृतिक फरकपन आदि बिषयहरु नेपाली कामदारको कठिनाईहरु मानेको छ ।
त्यस्तै कम्पनीलाई रिझाउन कामदारबिच होडबाजी, भिन्न देशका कामदारको भान्सा संगै हुनु आदि कारणले कामदारमा डिप्रेसन बढेको ठहर गरेको थियो ।
समितिले ईपीएसका कमदारलाई हाल दिइदै आएको प्रशिक्षण अपर्याप्त भएको जनाउदै ईपीएस शाखा नेपाललाई अभिमुखीकरण कक्षामा मनोबैज्ञानिक र श्रम नियमविदसंग संलग्न गराउन सुझाव दिएकोथियो ।
सुझाव बुझाइएको वर्ष दिन नाघे पनि हालसम्म कार्यन्वयनमा आएको छैन । प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार ईपिएस लागु भएका १५ देश मध्ये आत्महत्या गर्नेमा नेपाली कामदारको संख्या उच्च रहेको छ ।
तनावको सहि ब्यावस्थापन गर्ने ज्ञानको अभावमा मान्छेले आत्महत्याको बिकल्प रोज्ने गरेको मनोबिश्लेषक राजसंसार श्रेष्ठ बताउन्छन् ।
उनका अनुसार जीवन जिउने कलाको अभावमा मान्छे तनावग्रस्त हुने गर्दछ ।
केहि बर्षदेखि कोरियामा नेपाली कामदारलाई प्रयोगात्मक तनाव ब्यावस्थापन प्रशिक्षण दिंदै आएका श्रेष्ठले भने ‘पैसा कमाउन कला सिकाएर मात्र पुग्दैन समस्या ब्यवस्थापन गर्ने ज्ञान दिन पनि जरुरि छ ।’















प्रतिक्रिया