१४ कार्तिक २०८३, शनिबार

यस वर्षको प्रवेशिका परीक्षा सुरू, अनियमितता गर्नेलाई छ महिना कैद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SLC Boy & Girlभक्तपुर, ५ चैत । यस वर्षको प्रवेशिका परीक्षा आज बिहान ८ बजेदेखि देशैभरि सुरू भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले परीक्षालाई मर्यादित बनाउन सबै पक्षलाई आग्रह गरेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षालाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै पक्षलाई आग्रह गरिएको बताए ।

परीक्षाका लागि देशैभरका परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, कर्मचारी र सुरक्षाकर्मी खटिइएका छन् ।

यस वर्षको परीक्षामा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० तथा पुनःपरीक्षातर्फ छात्र ५९ हजार २५३ र छात्रा ८५ हजार ९३० गरी कुल पाँच लाख ७४ हजार ६८५ परीक्षार्थी सहभागी भएका छन् ।

परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौंमा ३४ हजार ५८७ र सबैभन्दा कम मनाङमा ७४ जना छन् । यस वर्ष परीक्षा दिनेमा छात्रभन्दा छात्राको सङ्ख्या बढी छ ।

परीक्षाका लागि देशभ एक हजार ८६२ परीक्षा केन्द्र कायम गरिएको छ । जसमा सबैभन्दा बढी काठमाडौंमा ९१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक एक छन् ।

परीक्षाका लागि २७ हजार ९३० सुरक्षाकर्मी, एक हजार ८६२ केन्द्राध्यक्ष, दुई हजार ४४० सहायक केन्द्राध्यक्ष, २३ हजार १४ निरीक्षक र सात हजार ६९९ कार्यालय सहायक परिचालन गरिने छ ।

परीक्षा नियन्त्रण कार्यालयले दृष्टिविहीन परीक्षार्थीका लागि कक्षा ९ मा अध्ययनरत व्यक्तिलाई सहयोगीका रूपमा राख्न पाउने व्यवस्था गरेको छ । गत वर्षसम्म दृष्टिविहीन परीक्षार्थीले कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई सहयोगी राख्न पाउँथे ।

परीक्षाको मर्यादाविपरीत कार्य गर्ने कर्मचारी, सुरक्षाकर्मी, परीक्षार्थीलाई कसुरको मात्रा हेरेर एक लाख जरिवाना वा छ महिना कैद वा दुवै सजाय गर्ने व्यवस्था गरिएको जानकारी परीक्षा नियन्त्रक द्वारेले दिए ।