२ कार्तिक २०८३, सोमबार

मलेसियामा मजदुरका नाममा घुम्दै संसदीय समितिको जम्बो टोली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaysiaParliamenttoliक्वालालम्पुर, ४ चैत । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति र मलेसियास्थित नेपाली संघसंस्थाका प्रतिनिधिबीच सोमबार अन्तर्क्रिया भएको छ ।

सभापति प्रभु शाहको नेतृत्वमा आएको टोलीलाई मलेसिया सरकारसँग यथासक्य चांडो श्रम सम्झौताका लागि पहल थाल्न सुझाव दिएको छ ।

‘श्रम सम्झौता नहुंदा पीडित नेपालीको समस्या समाधान गर्न र उनीहरुका पक्षमा लड्न समेत समस्या भइरहेको छ’, कार्यक्रममा सहभागीहरु अधिकांशको भनाइ थियो, ‘त्यसैले सबभन्दा पहिले त श्रम सम्झौता गर्नुपर्‍यो । त्यसपछि अन्य समस्या यसैअन्तर्गत समाधान हुंदै जान्छ ।’

भ्रमण विवादमा परेपछि त्यसलाई उपलब्धिमूलक बनाउन उनीहरुले प्रयास गरिरहेको दूतवाासका कर्मचारीहरुले जानकारी दिएका छन् ।

उनीहरु आफ्नै खर्चमा बसेको भनिए पनि भ्रमण के कस्तो तवरले भएको भन्नेमा दूतावासले अनभिज्ञता ब्यक्त गरेको कान्तिपुर दैनिकले छापेको छ ।

‘उहाँहरु आउनु भएको छ । जानकारी लिनु भएको छ । के कस्तो खर्चमा आउनु भयो त्यो जानकारी भएन । होटमा बस्नु भएको छ । खर्च उहाँहरुले नै ब्यहोर्नु होला यसबारेमा जानकारी भएन’ राजदूत निरन्जनमान सिंह बस्न्यातले टेलिफोनमा बताए ।

टोलीलाई दुतावासमा कर्मचारी कम भएकाले पनि सेवा दिन ढिलाई एवं कठिनाइ भइरहेकोबारे समेत अवगत गराइएको थियो ।

अधिकांश नेपाली मलेसिया आउनुअघि नेपालदेखि नै ठगिने गरेको, मलेसिया आइसकेपछि सम्झौता अनुसार काम, तलबसुविधा नपाउने र कानुनी हैसियत गुमाउने गरेको भन्दै कामदार असुरक्षाबारे समेत जानकारी गराइएको थियो ।

टोलीमा समितीका बलबहादुर केसी, सोमप्रसाद पाण्डेय, भरत बहादुर खडा, कमलादेवी शर्मा, जितेन्द्र नारायण देव, सचीव शान्तकुमार तुलाधर, रमेश कोइराला लगायत छन् ।

परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको कामकारबाही समेत हेर्ने अधिकार पाएको यो समितीको टोली अध्ययन भ्रमणका क्रममा मलेसिया आएको यो पहिलोपटक हो ।

टोलीले नेपाली दुतावासको कार्यालय, सेवा प्रणाली र व्यवस्थापकीय अवस्थाको अवलोकन गर्नुका साथै केही सेवाग्राही नेपालीसित उनीहरुको समस्याबारे बुझेको थियो ।

ती सेवाग्राहीले सम्झौता अनुसार काम र तलबसुविधा नदिइएपछि आफु कम्पनी छाडेर भाग्न बाध्य भएको उनीहरुलाई बताए ।

नेपाल र मलेसियाबीच स्न २००७ देखि नै श्रम सम्झौता गर्ने पहल भएपनि हालसम्म यस मुद्दाले सफलता पाउन सकेको छैन ।

श्रम सम्झौता नहुंदा नेपाली कामदार धेरैखाले समस्यामा पर्दै आएका छन् । मलेसियामा कार्यरत नेपालीका समयमा तलब नपाउने, काम र तलबसुविधा फरक पर्ने, सम्झौताविपरित काम लगाउने, विभिन्न शीर्षकमा रोजगारदाताले तलब काट्ने, सामान्य कारण पनि स्वास्थ्य परिक्षणमा अयोग्य देखिने, दुर्घटना हुंदा बिमा नपाउने, सुतेकै अवस्थामा मृत्यु हुने, होस्टल व्यवस्थित नहुने र कामदार लुटिने, पिटिने लगायत अनेक समस्याहरु देखिने गरेका छन् ।

टोलीले मलेसियाका सरकारी निकायका अधिकारीहरुसित समेत भेटघाट गर्दैछ ।

उक्त भेटघाटमा श्रमसम्झौता, नेपाली कामदारका समस्याबारे छलफल समेत गरिने टोलीका समितिका सभापति प्रभु साहले जानकारी दिए ।

‘हामीले तपाईंहरुबाट लिइएको यी यावत समस्याबारे मलेसियाको सरकारी निकायसित छलफलमा राख्नेछौं’, सभापति साहले भने ‘त्यसपछि यी समस्या समाधानका लागि नेपालमा मन्त्रालयमा राख्छौं । हामी काम गर्छौं ।’

यसअघि पनि नेपाल मानवअधिकार आयोगदेखि श्रम मन्त्रालयका अधिकारीहरुसमेत मलेसिया भ्रमणमा आएका थिए ।

तर उपलब्धि हासिल गराउन नसक्दा मलेसियास्थित नेपालीले उनीहरुको आलोचना गर्ने गरेका छन् ।

नेपाली कामदारको अवस्था र समस्याबारे बुझ्न पटक पटक सरकारी निकायका अधिकारी आउने गरेपनि मलेसियामा नेपाली कामदारका पक्षमा खासै उपलब्धि हासिल हुन सकेको छैन ।

तीन दिने अध्ययन भ्रमणपछि या यो टोलीले प्रतिवेदन तयार पारी मन्त्रालयलाई सल्लाह दिनेछ ।

दुतावासमा भएको अन्तरक्रियामा यहांस्थित नेपाली संघसंस्थाका प्रतिनिधी, व्यवसायी, श्रमिक र संचारकर्मी सामेल थिए ।