– सुमन गिरी
काठमाडौ । ‘राष्ट्र भन्नु हाम्रो शिर जीवन भन्नु पाऊ शिरै छिने कहाँ पाउँछौ, पाउ राख्ने ठाउँ’ ।
गीतकार रमेश अधिकारीका यी भावानाले आम नेपालीको भावाना र अर्थ बोकेको छ । राजु सिंहको संगीतमा स्वरुपराज आचार्यले स्वर दिएको गीतले नै प्रष्ट्याएको छ गीतकार अधिकारीले आफ्ना हृदयभावलाई यर्थाथमा उतारेका छन् ।
राष्ट्र र राष्ट्रियता अनि समाज र यर्थाथमा समर्पित यी गीतकारको भावना र कलमको दिशा यही पंक्तिमा स्पष्ट हुन्छ ।
धेरैले मायाप्रेम, विछोड वियोगको प्रसंगलाई प्राथमिकता दिए तर गीतकार अधिकारी भने आफूलाई राष्ट्रप्रेम वा राष्ट्रको माया ममतासँग नै रमाउने र यर्थाथमा खेल्ने गीतकारका रुपमा आफुलाई उभ्याए ।
समाजको कला संस्कृतिलाई सबै नेपालीले आफ्नै पहिचान बनाउनुपर्छ भन्ने हेतुले गीत लेखनमा होमिएका अधिकारीले समाजपरक धेरै गीतहरु लेखिसकेका छन् ।
समाजमा रहेका यथार्थतालाई गीतमार्फत उतार्न सफल अधिकारी अहिलेको पुस्ताका अब्बल सिर्जनाकार हुन् । अधिकारीले धेरै गाउँका व्यथा, राष्ट्रवाद अनि यर्थाथवादी धारमा रहेर आम जीवनको कथा लेखेका छन् ।
समाजमा आफूलाई गीतकारको पहिचान दिलाउन संघर्ष गर्दागर्दै एउटा सफल गीतकारको पंक्तिमा उभिएका गीतकार अधिकारीले लेखेको गीत एकपछि अर्को चर्चाको शिखरमा पुगिरहेको छ ।
आनी छोइङ डोल्माले गाएको ‘को हो ठूलो, को हो सानो’, शिला बहादुर मोक्तानको संगीतमा कुन्ती मोक्तानले गाएको ‘भूल भयो जीन्दगीलाई फर्की हेरिन’ भरत सिटौलाले गाएको अचानक, कहिले आगो कहिले पानी, शिव परियारले गाएको गालैको कोठी लगायत गीतहरु उनका लोकप्रिय तथा जनजिब्रोमा झुण्डिएका गीतहरु हुन् ।
अधिकारीले हालसम्म चार पुस्तक लेखिसकेका छन् भने १० वटा एकल गीतिसंग्रह सार्वजनिक गरिसकेका छन् । उता उनका अहिलेसम्म २ सयभन्दा बढि गीत रेकर्ड भैसकेका छन् । यी सबै पुस्तक तथा सिर्जना कुनै न कुनै अर्थमा महत्व बोकेका छन् ।
यसैले होला उनले आफ्नो पुस्तक सार्वजनिक पनि पृथकढंगले नै गरेका थिए । उनले आफ्नो पहिलो कृति ‘मेरो देश’ संसारको अग्लो चुचुरो सगरमाथाको शिरमा गराएका थिए भने दोश्रो कृति ‘मुटुभित्रका हरफहरु’ संसारकै होचो उपत्यका अरुण उपत्यकामा गराएका थिए ।
यस्तै उनको ‘पाटेबाघ’ नेपाली र अंग्रेजीमा सार्वजनिक भएको छ । पाटेबाघ कविता संग्रहलाई देशभरीका रेडियोबाट बाचन गराउने अभियानमा अहिले अधिकारी छन् ।
मायाप्रेम र खोक्रो आडम्वरका गीतसंगितले बजार ढाकिरहेको बेला यसको विपरित सिर्जना समाजका लागि हुनुपर्छ भन्ने धारमा अडिक अधिकारी आफ्ना सिर्जनाले समाज अनि देशमा योगदान दिनसकोस् भन्ने चाहन्छन् ।
उनको सिर्जनामा गाउँघरका भाषा तथा ठेट नेपाली शब्द प्रयोगको बेजोड संयोजन पाउन सकिन्छ । यसैले होला लोक, आधुनिक तथा राष्ट्रिय हरेक शैलीका उनका सिर्जनाले नेपाली सांगितिक क्षेत्रमा वेग्लै पहिचान र चर्चा बटुलिरहेका छन् ।
एभरेष्ट वल्र्ड रेकर्ड, एभरेष्ट हिरोजस्ता अन्तर्राष्ट्रिय सम्मान पाएका अधिकारीले केही समयअघि सम्पन्न म्यूजिक खबर अवार्डमा सर्वोत्कृष्ट राष्ट्रिय गीतकारको अवार्ड प्राप्त गर्न सफल भएका थिए ।
यस्तै श्रुति संगीत विद्यालय सम्मान, नेशनल प्रोग्रामिङ सम्मान जस्ता दर्जनौं सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका अधिकारी अधिराज्यव्यापी बालगीत प्रतियोगितामा दुई पटकसम्म उत्कृष्ट बन्न सफल भएका थिए ।
त्यस्तै अधिराज्यव्यापी एड्सविरुद्ध चेतना अभियानमा आयोजित गीतलेखन प्रतियोगितामा द्धितीय स्थान प्राप्त गरेका अधिकारी आगामी दिनमा पनि समाजलाई परिवर्तन गर्ने खालका चेतनामूलक गीत लेखनलाई प्रमुखता दिने बताउँछन् ।
















प्रतिक्रिया