३० आश्विन २०८३, शुक्रबार

चीनद्वारा झन्डै तेह्र अर्ब अनुदान सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaकाठमाडौँ, ३ चैत । चीन सरकारले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन रु १२ अर्ब ८३ करोड ६ लाख अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षको अवसर पारेर चीनले आर्थिक तथा प्राविधिक सहायताअन्तर्गत उक्त रकम नेपाललाई उपलब्ध गराउन लागेको हो ।

पूर्वाधार विकास आयोजनालगायत दुवै मुलुकले सहमति जनाएका विकास–निर्माणका काम कार्यान्वयन गर्न चीनले उक्त रकम प्रदान गर्न लागेको हो ।

अर्थमन्त्री डा रामशरण महतको उपस्थितिमा अर्थमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भयो । उक्त सम्झौतामा अर्थ सचिव सुमनप्रसाद शर्मा र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइले हस्ताक्षर गर्नुभयो ।

अनुदानस्वरुप चीन सरकारबाट प्राप्त सहयोग आगामी आर्थिक वर्षदेखि खर्च गरिनेछ । विभिन्न मन्त्रालयअन्तर्गतका परियोजना कार्यान्वयनमा उक्त रकम सदुपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा अर्थसचिव शर्माले नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै आज भएको सम्झौता हालसम्मकै ठूलो अनुदान सहयोग भएको जानकारी दिनुभयो ।

उहाँले नेपालको आर्थिक–समाजिक विकासमा चीनले निरन्तर सहयोग गर्दैै आएकामा आभार व्यक्त गर्नुभयो ।

राजदूत वुले राजनीतिक स्थायित्वसहित दिगो आर्थिक विकासको दिशामा नेपाल अग्रसर भएको चीनले हेर्न चाहेको बताउँदै दुई देशबीचको आर्थिक, सामाजिक, सांँस्कृतिक एवम् कूटनीतिक सम्बन्ध दौंत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्षमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । रासस