काठमाडौं, ३ चैत । सभामुख सुवास नेम्वाङले एमाओवादी र मधेशकेन्द्रित दलसहितका विपक्षीले थप आन्दोलनको घोषणा गरेकामा आफू स्तब्ध र दुखी भएको बताएका छन् ।
उनले आन्दोलनमा गएर संविधान निर्माण गर्न नसकिने उल्लेख गर्दै विपक्षी मोर्चालाई आन्दोलन गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।
‘उहाँहरु (विपक्षी मोर्चा) लाई म पुनर्विचार गर्न सल्लाह दिन्छु । आन्दोलनको बाटो समातेर संविधान बनाउन सकिदैन’, नेम्वाङले विपक्षी मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरेको भोलिपल्ट संवाददाताहरूसित भने ।
उनले आफूले सत्तापक्ष र विपक्षी मोर्चाबीच संविधान निर्माणको प्रक्रिया लामो समयसम्म रोकेको उल्लेख गर्दै उक्त अवधिमा सहमति हुन नसकेकामा दुःख प्रकट गरेको कान्तिपुर दैनिकले छापेको छ ।
‘संविधान बन्ने प्रक्रिया एक महिना रोक्नु भनेको सामान्य होइन’ नेम्वाङ्गले भने, ‘दलहरुबीच सार्थक संवाद होस् र सहमतिमै संविधान बन्न सकोस् भनेर प्रक्रिया स्थगन गरेको हो । तर, यति लामो अवधि निराशाजनक मात्र बन्यो ।’
नेम्वाङ्गले एक महिना बित्दा पनि नेताहरुबीच सार्थक संवाद हुन नसकेकामा आश्चर्य प्रकट गरेका थिए ।















प्रतिक्रिया