– विश्वराज पछल्डङ्ग्या
नेपालमा उत्पादित मसुरोको अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग भएपनि यसको महत्व, फाइदा र बजारको ज्ञान नभएका कारण किसानहरु ब्यवसायिक खेतीतर्फ आकर्षित हुन नसकेको कृषि विज्ञले बताएका छन् ।
मसुरो बालीको महत्व बुझ्न नसक्दा किसानहरु यसतर्फ आकर्षित हुन नसकेको कृषि विज्ञले बताएका हुन् ।
किसान परियोजना बाँकेले सोमवार नेपालगन्जमा आयोजना गरेको ‘मसुरो बालीको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा किसान परियोजनाका बरिष्ठ कृषि उत्पादन म्यानेजर राजेन्द्र साहुले तराईको ६२ प्रतिशत जमिनमा मसुरो खेती भए पनि परम्परागत कृषि प्रणाली अन्तरगत हुने गरेका कारण सोँचेजस्तो उत्पादन हुन नसकेको बताए ।
उनले मसुरो खेतीको क्षेत्रफल बढे पनि उत्पादनमा खासै उपलब्धि हुन नसकेको बताए । गहुँलाई हिउँदे बाली मध्ये मुख्य बालीको रुपमा लिँदा कृषकको आर्थिक अवस्था सुधार हुन नसकेको उनले बताए ।
‘मसुरो आर्थिक लाभको हिसावले फाइदै फाइदा, पोषण, माटोको उर्वराशक्ति बढाउने र पशुपंक्षिको आहारका हिसावले पनि उत्तिकै फाइदा हुने बाली हो,’–उनले भने, ‘लगानी कम आम्दानी धेरै हुने बाली मध्ये मसुरो एक हो ।’
नेपालमा उत्पादित मसुरोको माग बंगलादेश लगायत एसिया लगायत पश्चिमा राष्ट्रमा समेत माग भएको औँल्याउँदै उनले उत्पादित मसुरोको बजारीकरण गर्न कुनै समस्या नभएको बताए ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय बाँकेका बाली विकास अधिकृत हस्मुल्लाह खाँले बाँकेलाई मसुरोले चिनाउने लक्ष्य लिइएको बताए । नेपालमा उत्पादित चिया, कफी विदेशमा खपत भए झैँ नेपालमा उत्पादित मसुरोको दाल विश्वका धेरैजसो ठाउँमा माग भइरहेको खुलासा गरे । उनले माग अनुसार मसुरो उत्पादन हुन नसकेको स्पष्ट पारे ।
बाँकेमा ११ हजार ५२५ हेक्टर जमिनमा मसुरो खेती हुँदै आए पनि परम्परागत कृषि प्रणाली अन्तरगत भएका कारण उत्पादनमा बृद्धि हुन नसकेको बताए । उनले पहिलेको तुलनामा हाल मसुरोतर्फ किसानको आकर्षण बढ्न थालेको बताए ।
किसान परियोजना भेरीका म्यानेजर रामलाल श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा परियोजना बाँकेका प्रमुख महेश पौडेलले किसानको आयस्तर बृद्धि गरी जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले बाँकेका विभिन्न कृषक समूहलाई तालिम, उत्पादन र विक्रिका लागि चाहिने ढक, तराजु खरिदमा आर्थिक सहयोग गर्दै आएको बताए ।
उनले तरकारी खेतीका लागि टहरा, टनेल निर्माणमा समेत किसान परियोजनाले सहयोग गर्दै आएको जानकारी दिए । उनले भने, ‘किसानको आयस्तर उकास्ने उद्देश्यले मसुरो खेतीको क्षेत्रफल विस्तार गरी बजारिकरण गर्न किसान परियोजनाले कार्यक्रम लागू गरेको छ ।’
सन् २०११ मा मात्र ३६ हजार टन मसुरोको दाल बंगलादेश निर्यात भएको कार्यक्रममा जानकारी दिइएको थियो । मसुरो उत्पादन क्षेत्रफलको आधारमा बाँके चौथो स्थानमा छ भने दाङ पहिलो, कैलाली दोस्रो, बर्दिया तेस्रो, कपिलबस्तु पाँचौँ र कञ्चनपुर छैठौँ स्थानमा छ ।
कार्यक्रममा खाद्य विज्ञ, कृषक समूह, ब्यापारी, विउ विजन उत्पादक, संकलक, दाल उत्पादन गर्ने मिल संचालक लगायतको सहभागिता रहेको थियो ।
किसान परियोजना बाँकेले बाँकेका २५ वटा गाविसमा कार्यक्रम संचालन गर्दै आएको परियोजनाका ब्यवसाय विकास अधिकृत जगन्नाथ पौड्यालले जानकारी दिए । परियोजनाले बाँकेका ४ हजार घरधुरीलाई मसुरो खेतीका लागि सहयोग गर्ने लक्ष्य लिएको छ ।
– सहयोगपछि तरकारी खेतीतर्फ कृषक आकर्षित
घरायसी खर्चका लागि मात्र तरकारी उत्पादन गर्ने नरैनापुर क्षेत्रका बासिन्दाहरु खाएर बचेको तरकारी नजिकैको हाट बजारमा विक्रि गर्न थालेका छन् ।
नरैनापुरमा हाट बजार स्थल निर्माण भएपछि त्यस क्षेत्रका किसानहरु विक्रिका लागि तरकारी उत्पादन गर्न थालेका हुन् ।
भारतीय तरकारीमा निर्भर रहेका किसानहरु अहिले आफ्नै करेसाबारीमा तरकारी लगाउन थालेको पण्डितपुर्वा कृषि हाट बजार समितिका सचिव मनोज कुमार तमोललीले बताए ।
‘पहिले भारतीय बजारबाट तरकारी किनेर खानेहरु समेत आफ्नै बारीमा तरकारी लगाउने र खाएर बचेको तरकारी हाट बजारमा विक्रि गर्न थालेका छन्,’ सचिव तमोलीले भने, ‘कहिल्यै तरकारी नलगाउनेहरु पनि तरकारी लगाउन थालेका छन् ।’
कृषि हाट बजार स्थल निर्माण भएपछि तरकारी खेती गर्नेको संख्या बढ्दै गएको छ । तरकारी खेतीका लागि किसान परियोजनाले आर्थिक सहयोग गरेपछि तरकारी खेती गर्ने र विक्री गर्नेको संख्या बढेको उनले जानकारी दिए ।
उनले भने, ‘किसान परियोजनाले तरकारी (काँक्रा, लौका, करेला) खेतीका लागि टनेल बनाउन सहयोग समेत गरेको छ । यसले तरकारी र नगदे बालीका लागि किसानलाई हौसला प्रदान गरेको छ ।’
कृषि पेशामा निर्भर रहेका किसानको आय बृद्धि गरी उनीहरुको आयस्तर उकास्न र जीवन सहज बनाउन विभिन्न किसिमका तालिम, उपकरण र सीप विकासमा सहयोग गर्दैै आएको किसान परियोजना बाँकेका ब्यवसाय विकास अधिकृत जगन्नाथ पौड्यालले बताए ।
‘तरकारी र खाद्यान्न बाली उत्पादन बृद्धि गरी बजार ब्यवस्थापन गर्न जिल्लास्थित हाट बजार र संकलन केन्द्रलाई सहयोग गरिरहेका छौँ,’ पौड्यालले भने, ‘किसानलाई ब्यवसाय योजना बनाउन पनि सहयोग गर्दै आएका छौँ ।’
परियोजनाले बजार समर्पित सदस्य तालिम, बजार समिति गठन, नयाँ संरचना निर्माणमा समेत सहयोग गर्दै आएको पौड्यालले जानकारी दिए ।
घर खर्चका लागि मात्र खेती गर्दै आएका किसानलाई ब्यवसायिक खेती गर्न प्रेरित गर्ने लक्ष्यका साथ अगाडी बढेको बताउँदै उनले खेतमा उत्पादित तरकारी र खाद्यान्नलाई बजारसम्म पु¥याउन चाहिने सीप, समन्वय र सम्बन्ध विस्तारका लागि किसान परियोजनाले सहयोग गर्दै आएको छ ।
















प्रतिक्रिया