२९ आश्विन २०८३, बिहिबार

नेपाली भनेका बाघ हुन् आत्मसमर्पण गर्दैनन् : भारतीय फुटबल प्रशिक्षक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-India-football

काठमाडौँ, २ चैत । भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक स्टेफन कन्स्टान्टिनले पहिलो लेगमा २–० ले अग्रता लिए पनि आफ्नो टोली नेपाललाई सजिलै जितेर दोस्रो चरणमा जानेमा ढुक्क नभएको बताउनुभएको छ ।

आज यहाँ आयोजित ‘प्रि म्याच प्रेस कन्फरेन्स’मा मुख्य प्रशिक्षक कन्स्टान्टिनले भन्नुभयो, “नेपाली भनेका बाघ हुन्, आत्मसमर्पण गर्दैनन् ।”

सन् १९९९ मा काठमाडौँमा भएको आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाललाई रजत पदक दिलाउँदाका प्रशिक्षक पनि रहेका बेलायती नागरिक कन्स्टान्टिनले कूटनीतिक पारामा भन्नुभयो, “तर त्यो बेलाको नेपाली टोली र अहिलेको नेपाली टोलीमा भने तुलना गर्न मिल्दैन ।”

नेपाली टोलीका मुख्य प्रशिक्षक ज्याक स्टेफानोस्कीले भोलि राम्रो परिणामकै लागि खेल्ने बताउनुभयो । पोलिस मूलका अमेरिकी नागरिक प्रशिक्षक स्टेफानोस्कीले त्यसका लागि नेपाली टोलीमा केही परिवर्तन ल्याउनेतर्फ सङ्केत गर्दै भन्नुभयो, “हामी दुई गोलले पछि परेका छौँ, घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै दुई गोलले अग्रता लिने प्रयास गर्नेछौँ, त्यसपछि मात्र अरु सोच्छौँ ।”

कप्तान सागर थापाले पहिलो खेलमा मेहनत गर्दागर्दै पनि खराव नतिजा आएको बताउनुभयो । उहाँले सबैले मेहनत गरे अझै पनि सम्भावना नसकिएको सङ्केत गर्दै भन्नुभयो, “हामीसँग आफ्नै मैदानमा फुटबललाई माया गर्ने दर्शकको साथ हुनेछ, त्यसैले हामी साँच्चै राम्रो प्रदर्शन चाहन्छौँ ।”

भारतीय कप्तान सुब्रत पालले पनि उहाँको टोली जितकै लागि आएको बताए पनि नेपाल सहज टोली नभएको बताउनुभयो ।

सन् २०१८ मा रुसमा हुने विश्वकप तथा २०१९ को एसिया कपका लागि एसियाली छनोटअन्तर्गत दोस्रो लिगका लागि नेपाल र भारत मङ्गलबार आमनेसामने हुँदैछन् ।

चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध नेपालले पहिलो खेल ‘अवे लेग’को रुपमा गत २८ फागुनमा गुवाहाटीमा खेलेको थियो । यसमा नेपाल ०–२ ले पछाडि रहेको छ । अब नेपालले दोस्रो चरणमा पुग्न गृह मैदानमा कुनै गोल नखाई ३–० ले जित्नुपर्नेछ । एक गोलमात्र व्यहोरेको खण्डमा ४ गोल लगाउनुपर्ने हुन्छ । रासस