काठमाडौ, २ चैत्र । विदेशी रोजगारदाता कम्पनीले पासपोर्ट राखिदिएकाले झन्डै डेढ लाख नेपाली कामदारले तोकिएको समयमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन नसक्ने अवस्था उत्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) का अनुसार आउँदो २०७२ मंसिर ८ भित्र सबै हस्तलिखित राहदानी विस्थापित गरी एमआरपी बनाइसक्नुपर्ने छ ।
त्यो समयभित्र एमआरपी नबनाए कामदार कार्यरत मुलुकमै अवैध भई समस्यामा पर्न सक्छन् ।
मलेसियामा करिब एक लाख र साउदी अरबमा ३५ हजारभन्दा बढी कामदार यस्तो समस्यामा पर्न सक्ने सम्बद्ध अधिकारीहरूको आकलन छ ।
कतार र युनाइटेड अरब इमिरेट्स (यूएई) मा पनि धेरै नेपाली कामदारको पासपोर्ट कम्पनीले नै राखेका छन् ।
रोजगारदाता कम्पनीले पासपोर्ट राखिदिने र नयाँ बनाउन माग्दासमेत नदिने गरेकाले यस्तो अवस्था आएको हो ।
अन्यमा काम गर्न जालान् वा भाग्लान् भनेर सबैजसो कम्पनीले कामदारको पासपोर्ट आफैंसँग राख्छन् ।
मलेसिया, साउदी अरब, कतार, कुवेत, ओमान, बहराइन र यूएईमा रोजगारदाता कम्पनीले नै कामदारको पासपोर्ट राख्दै आएका छन् ।
तोकिएको समयमा एमआरपी बनाउने नसक्ने अवस्थाबारे सम्बन्धित मुलुकका दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेका छन् ।
कतिपय कम्पनीले एकैपटक सबैको पासपोर्ट बनाइदिने भन्दै आलटाल गर्दै आएको सम्बद्ध मुलुकका दूतावासहरूले जनाएका छन् ।
कतिपय स्थानमा नेपालीलाई जानकारी नै छैन । कतिपयले चाहेर पनि समयमै पासपोर्ट बनाउन नसकेको दूतावासहरूले मन्त्रालयलाई जानकारी गराएका छन् ।
कतिपय कामदारलाई एमआरपी नबनाउँदा मंसिर ८ पछि समस्यामा पर्छ भन्ने जानकारीसमेत नभएकाले पनि यो अवस्था आएको राहदानी विभागले जनाएको छ ।
दूतावासलाई सम्बन्धित मुलुकमा व्यापक प्रचारप्रसार गर्ने र कम्पनीहरूमा फोन नै गरेर त्यहाँ रहेका नेपाली कामदारको पासपोर्ट बनाइदिन आग्रह गर्ने विभागले जनाएको छ ।
दूतावासले करारमा राखेका कर्मचारीको पारिश्रमिक आठ महिनादेखि निकासा नभएपछि त्यसबारे जानकारी लिन काठमाडौं आएका साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘एमआरपी बनाउन दूतावासको तर्फबाट विभिन्न प्रयास भइरहेको छ । कम्पनीहरूमा सम्पर्क गरेर पनि आग्रह गरेका छौं । तर पनि कम्पनी र नेपाली स्वयंलाई पनि पासपोर्ट तत्काल बनाउन पर्छ भन्ने नलागेकै कारण सहज हुन सकेको छैन ।’
साउदीस्थित नेपाली दूतावासबाट करिब ८० हजार एमआरपी वितरण गरिसकेको र अबको आठ महिनामा यो कार्य थप तीव्र बनाउनुपर्ने उनले बताए ।
कम्पनीले पासपोर्ट निन्त्रणमा राखिदिने भएकाले कामदारले चाहेर पनि एमआरपी बनाउन नसकेको उनले बताए ।
मलेसियास्थित नेपाली दूतावासले पनि बिदाको दिन कार्यस्थलमा पुग्ने र कम्पनीमा फोन गरेर पासपोर्ट बनाइदिन आग्रह गर्दै आएको राजदूत निरन्जनमान सिंह बस्न्यातले बताए ।
जोहोरबारुको सम्पर्क कार्यालय र पेनाङमा रहेको अवैतनिक दूतावासमा पनि संकलन कार्य भइरहेको उनले जानकारी दिए ।
नेपालीहरू कार्यरत कम्पनीमा नै पुगेर पासपोर्ट आवेदन भरिदिन फागुन २१ मा एक टोली कतार गएको छ ।
उक्त टोलीले आधा दर्जन कम्पनीहरूमा गएर राहदानीको फारम भराएका छन् । नेपाली कामदारका लागि यस्तो टोली पहिलो पटक गएको हो ।
एक शाखा अधिकृत र नायब सुब्बाको टोली दूतावासभन्दा टाढा-टाढा क्षेत्रमा गएर आवेदन संकलन गर्ने र नेपाल पठाउने काममा लागेको विभागका महानिर्देशक लोकबहादुर थापाले बताए ।
‘मलेसिया, यूएई र साउदी पनि छिट्टै पठाउने तयारीमा छौं’, उनले भने । दूतावासले पनि आफ्नो तबरबाट बिदाको दिन पारेर विभिन्न कम्पनीमा पुगेर आवेदन फारम संकलन गर्दै आएको छ ।
राहदानी विभागले आगामी ८ महिनाभित्र सबै हस्तलिखित राहदानी विस्थापित गरिसक्ने बताएको कान्तिपुर दैनिकले छापेको छ ।
चार वर्षमा ३२ लाख एमआरपी जारी गरिसकेको विभागले आगामी ८ महिनामा १० लाखभन्दा बढी एमआरपी जारी गर्दा हस्तलिखित विस्थापित भइसक्ने हुनाले आवेदन आए विस्थापित गर्न समस्या नहुने थापाले बताए ।
पछिल्लो समय दैनिक पाँच हजारभन्दा बढी एमआरपी तयार हुने गरेको जानकारी दिँदै उनले विदेशबाट नेपाल बिदामा आउने धेरैले एमआरपी बनाइसकेको जनाए ।
२०७२ मंसिर ८ भित्र हस्तलिखित राहदानी विस्थापित गर्नुपर्ने भएकाले त्यहीअनुरूपका कामहरू अघि बढेको उनले बताए ।















प्रतिक्रिया