महेन्द्रनगर, १ चैत । वर्षात लाग्यो की प्रहरीलाई चिन्ता हुन्थ्यो अब कसरी बस्ने ? घरको छानोबाट तपतप पानि चुहिन्थ्यो । प्रहरीहरु नसुतेर रातभर जाग्राम बस्थे ।
यस्तो अवस्थाबाट गुज्रिरहेको थियो कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित इलाका प्रहरी कार्यालय शंकरपुर । गाउँलेको घरमा एक कोठा लिएर इलाका प्रहरी कार्यालय सञ्चालन भइरहेको थियो ।
विकट गाउँमा प्रहरी भएकै कारण सरकारी भनेर भाँडा तिन हजार रुपैयाँ तिर्थे । द्वन्द्वकाल सकिएपछि २०६७ सालमा स्थापना भएको शंकरपुर इलाकाका प्रहरी रातभरी जाग्राम बसेर दिनभरी ड्युटी गर्थे ।
२३ जनाको दरबन्दी भएपनि एक कोठामा ११ जना प्रहरी जेनतेन बस्दै आएका थिए । ‘२ वर्ष पानी चुहिने बसेर सेवा गरे, राति सुत्न पनि पाईदैनथ्यो,’ इलाका प्रहरी कार्यालय शंकरपुरका हवल्दार दिपराम डगौराले भन्नुभयो, ‘राति नसुतेरै दिनमा ड्युटी गथ्र्यौ, साह्रै समस्या थियो ।’
वर्षातको समयमा बाढीले सताइरहने शंकरपुरमा प्रहरीहरु २४सैं घण्टा अर्लट हुन्थे । स्थानीयको उद्दारका लागि २४सैं घण्टा तैनाथ हुनुपथ्र्यो । त्यस्तो अवस्थामा पानी चुहिने छानामाुनी बसेर रात काट्नुपथ्र्यो ।
तर, अब यस्तो समस्या हटेको छ । स्थानीयहरुको सहयोगमा शंकरपुरमा ३ कोठे प्रहरी भवन निर्माण भएको छ । टिनको छानाले ढाकेको कच्ची भवन निर्माण भएको हो । इलाका प्रहरी कार्यालय झलारीमा कार्यरत प्रहरी नायव निरीक्षक गोपाल कार्की गत कात्तिक महिनामा शंकरपुर इलाकामा सरुवा भएका थिए ।
कञ्चनपुर घर भएका प्रहरी नावय निरीक्षक कार्कीको पहलमा शंकरपुर इलाकाको ३ कोठे भवन निर्माण भएको हो । ‘म शंकरपुर कार्यालय हाजिर हुँदा अवस्था दयनिय थियो । अफिस, भान्सा, सुत्ने एउटै कोठा थियो, काम गर्न पनि गाह्रो थियो,’ प्रहरी नायव निरीक्षक कार्कीले भन्नुभयो, ‘स्थानीयसंग सहकार्य गरी अहिले ३ कोठे भवन बनाउन सफल भयो । ’
उहाँले कार्यालय हाजिर भएर सर्वदलिय बैठकबाट सामुदायिक वनको जग्गा इलाका प्रहरी कार्यालय शंकरपुरको नाममा गराएका थिए । सर्वदलिय बैठकपछि शंकर–४ स्थित वागवाणी सामुदायिक वनले पश्चिमतिर खाली रहेको १ विगाहा जग्गा प्रहरीलाई दिएको थियो ।
जग्गा पाइसकेपछि इलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि नेकपा एमालेका कञ्चनपुर जिल्ला अध्यक्ष तारालामा तामाङ्गले ६० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । जुन पैसाले भवनको छानो (जस्तापाता) खरिद गरिएको थियो । स्थानिय वनको काठ सहयोगमा प्रहरी कार्यालय निर्माण गरिएको हो ।
प्रहरी कार्यालय भवन बनाउन स्थानीयले जनश्रमदान समेत गरेका थिए । इलाका प्रहरी कार्यालयको नयाँ भवनको आइतबार औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
प्रहरी कार्यालय भवन बनेपछि प्रहरी जवान गाउँलेहरु उत्साहित बनेका छन् । शान्ति सुरक्षाको अभिभारा बोकेको प्रहरी आफै असुरक्षित हुँदा यसअघि पुरै गाउँ त्रसित बनेको थियो ।















प्रतिक्रिया