काठमाडौं, १ चैत । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितले पारिश्रमिकको विषयमा कञ्चनपुरमा पत्रकाबीच भएको विवाद सुल्झाउन मिसन गठन गरेको छ ।
पत्रकार महासंघ सचिवालयको बैठकले कञ्चनपुरकी पत्रकार दिया चन्दले पारिश्रमिक मागेकै कारण विस्थापित हुनुपरेको भनी गरेको गुनासो र यही विषयलाई लिएर कञ्चनपुरस्थित रेडियो नागरिकका स्टेसन मेनेजर श्याम भट्टमाथि भएको कुटपिट घटनाको छानविनका लागि उपाध्यक्ष अनिता विन्दुको संयोजकत्वमा मिसन गठन गरेको हो ।
घटनाको सम्पूर्ण पक्षको अध्ययन गरी सत्यतथ्य पत्ता लगाउने, पीडित पत्रकारको सुरक्षा र संरक्षणको प्रबन्ध मिलाउने एवं समस्या समाधानको आवश्यक पहल गर्ने जिम्मेवारीका साथ मिसन गठन गरिएको सचिव धर्मेन्द्र कर्णद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
मिसनमा महासंघकी सचिव संगीता खड्का, केन्द्रीय सदस्य खगेन्द्र पन्त, पूर्वकेन्द्रीय उपाध्यक्ष चित्राङ्ग थापा र महासंघ कञ्चनपुर शाखा अध्यक्ष लक्ष्मण तिवारी सदस्य रहेका छन् ।
मिसनले आवश्यकताअनुसार सम्वद्ध पक्षसँग सम्पर्क, सम्वाद र स्थलगत भ्रमण समेत गरी यथाशक्य चाँडो कार्य सम्पन्न गरी रायसुझावसहित केन्द्रीय समितिमा प्रतिवेदन प्रस्तुत गर्ने छ । रेडियाले पारिश्रमिक नदिएको भन्दै स्टेशन म्यानेजरमाथि केही दिन अगाडी आक्रमण भएको थियो ।















प्रतिक्रिया