– आश गुरुङ
लमजुङ, १ चैत । लमजुङको बाहुनडाँडा गाउँ विकास समिति वडा नं. ५ धुवाँखोलामा आइतबार विहान ल्याडकुजर गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । घाइते ६ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ ।
लमजुङको ताघ्रिङस्थित माथिल्लो मस्र्याङ्दी-२ को कार्यालयबाट बाहुनडाँडा जाँदै गरेको जेनिसिस कन्सलटेन्सीको बा २ च ७४३३ नम्बरको ल्याण्डकुजर गाडी विहान सडकबाट झण्डै एक सय मिटर तल खसेको थियो ।
दुर्घटनामा ललितपुर लुभुका ३९ बर्षका रविनकुमार श्रेष्ठको मृत्यु भएको छ । गम्भिर घाइते रविनलाई उपचारका लागि लमजुङ सामुदायिक अस्पताल ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते काठमाडौंका २५ वर्षीय विरेन्द्र बाँनिया र वर्ष ४० का ध्रुवनारायण मानन्धरको अवस्था चिन्ताजनक छ । काठमाडौंका रितेश श्रेष्ठ, विनोद खड्की, सिन्धुपाल्चोकका प्रकाश माझी र चितवन कुरिनटारका हिरा बहादुर मगर पनि दुर्घटनामा घाइते भएका छन् ।
सवारी चालक विनोद खड्कीको दुबै हात भाँचिएको छ । घाइते सबैलाई तीन वटा हेलिकप्टर चार्टर गरी काठमाडौको बयोधा अस्पताल लगिएको छ ।
दुर्घटना भएको ४ घण्टापछि मात्र काठमाडौंबाट हेलिकप्टर आएको थियो । लमजुङको ताघ्रिङमा निर्माण हुने भनिएको ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी-२ जलविद्युत आयोजनाको विद्युत प्रशारण लाईन सर्भेका लागि काठमाण्डौ पुल्चोकस्थित जेनिसिस कन्सलटेन्सीका प्राविधिक टोली बाहुनडाँडा जान लागेका थिए ।
शनिबारदेखि सर्भेमा खटिएका प्राविधिक टोली बोकेको दुईवटा गाडी मध्ये एउटा गाडी दुर्घटनामा परेको हो । माथिल्लो मस्र्याङ्दी–२ भारतीय कम्पनी जीएमआरले निर्माण गर्न लागेको हो । चार वर्षअघि पनि सर्भेको क्रममा जिएमआरको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो ।















प्रतिक्रिया