– सन्तोष काफ्ले
धरान १ चैत । विष्फोटक पदार्थ सहित ४ जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । भोजपुरको कोट गाविसका सन्तोष राई, उद्धिम राई, हेमन्त राई र वसन्त राईलाई धरान १७ स्थित प्रनिता राईको घरबाट विष्फोटक पदार्थ सहित प्रहरीले आइतबार विहान पक्राउ गरेको हो ।
उनीहरुको साथबाट विष्फोटक पदार्थ जिलेटीन लोला १२ थान, इलेक्ट्रिक डेटोनेटर २३ थान, चक्कु १ थान र नगद ७९ हजार ७ सय २० रुपैयाँ तथा ३ थान मोबाइल बरामत गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक सुदन कुमार सिजापतिले जानकारी दिए ।
भारतको कोइलाखातबाट रोजगारी गरी फर्किएका उनीहरुले विष्फोटक पदार्थ ल्याएको सुराकीको आधारमा धरान १७ स्थित प्रनिता राइको घरमा डेरा गरी वस्ने भगवती राईको कोठामा लुकाई राखेको अवस्थामा सो सामान बरामत भएको डिएसपी सिजापतिले वताए ।
पक्राउ परेका चारै जना भगवती राईको घरमा पाहुना लाग्न आएको प्रहरीले जनाएको छ । बरामत भएको विष्फोटक पदार्थ सहित चारै जनालाई प्रहरी आइतबार नै सावैजनिक गरेको छ ।
पुर्व क्षेत्रीय प्रहरी कार्यलय विराटनगर र इलाका प्रहरी कार्यलय धरानको संयुक्त प्रयासमा विष्फोटक पदार्थ सहित पक्राउ परेका चारै जनालाई आइतबारै विष्फोटक पदार्थ ऐन २०१८ बमोजिम कानुनी कारबाही चलाइएको छ ।
उनीहरुको कुन संगठन वा कसको लागी काम गर्दै आएको लगायतका विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया