३ कार्तिक २०८३, मंगलबार

मानवअधिकार आयोगले भन्यो–‘ उपभोक्ताको अधिकार स्थापित गर’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human-rights-commission-nepalकाठमाडौं, १ चैत । मानवअधिकार आयोगले उपभोक्ताका अधिकार स्थापित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवसका अवसरमा विज्ञप्ती जारी गर्दै आयोगले आम उपभोक्तालाई गुणस्तर सेवा उपलब्ध गराई अधिकार स्थापित गराउन सरकारसंग माग गरेको हो ।

‘वस्तु तथा सेवाको गुणस्तर, उपलब्धता र न्यायोचित मूल्य निर्धारण प्रक्रियाबारे अनुगमन गर्ने सरकारी निकायलाई थप प्रभावकारी बनाउन, उपभोक्ता शिक्षा प्रवद्र्धन गर्न तथा उपभोक्ताको हितविपरीतका गतिविधिमा संलग्नहरूमाथि छानबिन गरी कानुनी कारबाही गर्न-गराउन आयोग नेपाल सरकार तथा सबै सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदछ ।’ सचिव वेदप्रसाद भट्टराईद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

उपभोक्ताको अधिकारलाई ऐन-कानुनमा व्यवस्था भएबमोजिम सुनिश्चित गराउन आयोग सरकारको ध्यानाकर्षण गराएको हो ।

‘देशको सार्वजनिक यातायात प्रणाली सिण्डिकेट लगायतका समस्याबाट ग्रसित हुनु, सरकारले भाडा घटाउन निर्देशन दिँदा पनि सवारी साधनको भाडा नघट्नु, विद्युत तथा स्वच्छ पिउनेपानीको आपूर्ति नियमित हुन नसक्नु, वस्तु तथा सेवाको मूल्य निर्धारण प्रक्रिया न्यायसंगत नहुनु, उपभोक्ताले ग्यासलगायत अत्यावश्यकीय वस्तु तथा सेवा सहज प्रक्रियाबाट प्राप्त गर्न नसक्नु, अस्वाभाविक रूपमा मूल्यवृद्धि हुनु, वस्तु तथा सेवाबारे भ्रमपूर्ण विज्ञापन आउनु, आफूमाथि अन्याय हुँदा उपभोक्ताले कानुनी उपचार नपाउनुजस्ता तमाम समस्याहरूबाट आमउपभोक्ता आफ्ना अधिकार उपभोग गर्नबाट बञ्चित भएका छन् ।’ विज्ञप्तीमा भनिएको छ ।

उपभोक्ताको अधिकार स्थापित भएमात्रै अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको सार्थकता स्थापित हुने आयोगले जनाएको छ ।