तुलसीपुर (दाङ), १ चैत । मौसम अनुकूल हुँदा दाङमा गत वर्षको तुलनामा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकृत भरत पोख्रेलले दिनुभएको जानकारीअनुसार यस वर्ष जिल्लामा २० हजार ५४४ मेट्रिक टन तोरी उत्पादन भएको छ । गत वर्ष २० हजार ३७७ मेट्रिक टन तोरी उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष १६७ मेट्रिक टन तोरी बढी उत्पादन भएको हो ।
यस वर्ष जिल्लामा कुल १८ हजार ५२५ हेक्टर जग्गामा तोरीखेती गरिएको थियो । जिल्लाको सतबरिया, सौडियार, रामपुर, लालमटिया, पवन नगर, तुलसीपुर नगरपालिका, त्रिपुरनगरपालिका, गङ्गापरस्पुर, पञ्चकुले, पुरन्धरा, धनौरी, बागमारेलगायतका गाविस र नगरपालिका तोरीखेतीका लागि उपयुक्त क्षेत्र मानिएका छन् ।
कार्यालयले तोरीको उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले गत वर्षदेखि नै ती गाविसका करिब ५०० हेक्टर जग्गामा अभियानमुखी तेलन क्षेत्र विस्तार कार्यक्रम पनि लागू गरेको छ ।
तोरीखेतीका लागि आवश्यक पर्ने सिँचाइ र मलको उचित व्यवस्था र किसानलाई तोरीखेती सम्बन्धमा आवश्यक सरसल्लाह दिने गरेका कारण उत्पादनमा वृद्धि भएको सूचना अधिकृत पोख्रेलले जानकारी दिनुभयो ।
त्यस्तै मौसम अनुकूल, रोग र किराको प्रकोपमा कमीका कारण पनि उत्पादनमा वृद्धि आएको उहाँले बताउनुभयो । कार्यालयले यस वर्ष जिल्लाका लालमटिया, बेला, रामपुर, पवन नगर, बाघमारेलगायतका गाविसको करिब ५० हेक्टर जग्गामा तोरीको बीउ प्रतिस्थापन कार्यक्रम समेत लागू गरेको उहाँले जानकारी दिनुभयो ।
हाल दाङमा देउखुरी क्षेत्रमा प्रिति जात, अन्य स्थानमा उन्नति र दाङको स्थानीय जातको तोरीखेती हुने गरेको कार्यालयले जनाएको छ ।
















प्रतिक्रिया