३ कार्तिक २०८३, मंगलबार

प्रचण्डले प्रधानमन्त्रीलाई भने–‘हामी त आन्दोलन घोषणा गर्दैछौं, तपाई के गर्नुहुन्छ ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-prachandaकाठमाडौँ, १ चैत । प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ ।

एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाको नेतृत्व गर्दै प्रचण्डले आज प्रधानमन्त्री कोइरालासंग वालुटारमै वार्ता गरेका हुन् । वार्तामा प्रचण्डले ३० दलिय मोर्चा आन्दोलनमा जाने कुरा प्रधानमन्त्रीलाई बताएका थिए ।

सहमति खोज्न वार्तामा बसेपनि आन्दोलन गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । वार्तामा प्रचण्डले प्रधानमन्त्रीलाई भनेका छन्-‘हामी त आन्दोलनमा जाने तयारी गरिरहेका छौं, तपाई के गर्नुहुन्छ ?’

जवाफमा प्रधानमन्त्री कोइरालाले आन्दोलनबाट निकास प्राप्त नहुने भन्दै सहमतिमा आउन फेरि आग्रह गर्नुभयो । वार्तामा प्रधानमन्त्री र प्रचण्डबीच एउटा समझदारी भएको छ ।

जसअनुसार एमाओवादी मोर्चाले वार्ता र आन्दोलन संगसंगै अगाडी बढाउने भएको छ । प्रचण्डले प्रधानमन्त्रीको आग्रह नमानेपछि वार्ता र आन्दोलन संगसंगै गरिने समझदारी भएको हो ।

वार्तापछि प्रचण्डले सत्तारुढ दलसँग भएको वार्ता सकारात्मक भएपनि आन्दोलनको घोषणा गर्न तयारी भइरहेको बताएका थिए ।

उनका अनुसार दुई शीर्ष नेताबीच भएको छलफलमा संविधान निर्माण सहमति खोज्न विपक्षी वार्तामा बस्ने हो कि होइन भन्ने सम्बन्धमा निर्णायक वार्ता भएको थियो ।

‘प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक भयो, म यो कुरा ३० दलीय मोर्चाको बैठकमा राख्छु,’ प्रचण्डले भने, ‘तर शान्ति सम्झौताका सहयात्री दलहरुबीचको सहमतिबाट मात्र संविधान बनाइन्छ भन्ने आश्वस्त गर्न प्रधानमन्त्री हिच्किचाउनुभएपछि मोर्चाले आन्दोलन रोकेर बस्न मिल्दैन ।’

आन्दोलनका कार्यक्रम घोषणा भए पनि वार्ताबाटै सहमति खोज्ने र छिटो संविधान बनाउने आफूहरुको प्रतिबद्धता भने कायम नै रहेको प्रचण्डले स्पष्ट पारे ।

वार्तापछि काँग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता दीलेन्द्रप्रसाद बडूले दुई नेताबीच संविधानका विवादित विषयमा गम्भीर छलफल भएको जानकारी दिँदै वार्तालाई निरन्तरता दिने सहमति भएको बताए ।