१ कार्तिक २०८३, आइतबार

नेम्वाङलाई जन्मदिनको उपहार नयाँ गाडी, दाहालसहितका नेताहरूले पनि पाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

subash-nembangकाठमाडौं, ३० फागुन । विभिन्न दलका नेता, सभासद् र सञ्चारकर्मीले संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई उनकै कार्यकक्ष सिंहदबारमा बिहीबार ६३औं जन्मदिनको शुभकामना दिइरहँदा पूरानो प्रतिनिधिसभा भवनअगाडि एक हुल कर्मचारी नयाँ गाडीको पूजा गरिरहेका थिए।

२०६२–०६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसददेखि दोस्रो संविधानसभासम्म निरन्तर सभामुख र सभाध्यक्ष रहेका नेम्बाङका लागि आठ वर्षपछि संसद् सचिवालयले नयाँ गाडी उपलब्ध गराएको हो।

१५ वर्ष पुरानो गाडीमा बारम्बार बिग्रिरहने समस्या आउन थालेपछि नेम्बाङले नयाँ गाडी उपलब्ध गराइदिन सरकारलाई आग्रह गरेको थियो ।

सरकारले गाडी उपलब्ध नगराई यसपटक रकम उपलब्ध गराइदिएपछि बल्ल नयाँ गाडी किनेको सचिवालयका सचिव ठाकुरप्रसाद बरालले बताए।

‘सभामुखका लागि वर्षैपिच्छे गाडी किन्ने कुरा हुन्थ्यो। तर कहिले के, कहिले के भएर रोकिएको थियो। १५ वर्ष पूरानो गाडीले राम्रो काम गर्न नसकेपछि यसपटक नयाँ किनियो’, बरालले भने।

टोयोटा कम्पनीको प्राडो बुधबार नै संसद् सचिवालय ल्याइपुर्‍याइए पनि कागजी काम मिलाउने काम बिहीबारमात्र सम्पन्न भएकाले पूजा गरिएको सचिवालयका अधिकारीले बताए।

उपसभामुख ओनसरी घर्तीमगर र विपक्षी दलका नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका लागि दोस्रो चरणमा गाडी किन्ने तयारी भइरहेको सचिवालय स्रोतले बतायो।

नेम्बाङले आफ्नो जन्मदिनमा छिटो सहमति गर्न नेताहरूसँग आग्रह गरे।

कांग्रेस उपसभापति रामचन्द्र पौडेल, सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णसहित विभिन्न दलका सभासद्लाई सहमतिका लागि जुट्न उनले आग्रह गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

एमाओवादी अध्यक्ष दाहालसँग बुधबार भएको टेलिफोन वार्तामा पनि नेम्बाङले संविधानसभा अनिश्चितकालका लागि स्थगित हुनुको औचित्य दलहरूले पुष्टि गर्नुपर्ने भन्दै छिटो सहमतिमा पुग्न आग्रह गरेका थिए।