३ कार्तिक २०८३, मंगलबार

संगीता र सीमाको चाहना पूरा, अस्पतालबाटै एसएलसी दिन पाउने व्यवस्था

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sima-Basnet

काठमाडौँ, २९ फागुन । सरकारले एसिडपीडित किशोरीहरुलाई अस्पतालबाटै एसएलसी परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उपचारस्थलबाटै परीक्षा दिन पाउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । पीडित बालिकाको मागबमोजिम नै परीक्षा दिन पाउने व्यवस्था गरिएको कानुनमन्त्री नरहरि आचार्यले जानकारी दिनुभयो ।

फागुन १० गते राजधानीको वसन्तपुरमा अपरिचित व्यक्तिले प्रवेशिका परीक्षाका तयारी गरिहेका संगीता मगर र सीमा बस्नेतमाथि एसिड प्रहार गरेका थिए । उनीहरुको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

सरकारले आक्रमणकारीको खोजीलाई तीव्रता दिन र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । पीडित किशोरीद्वयले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई पत्र लेखी आक्रमणकारीलाई तत्काल कारबाही गर्न र उपचारस्थलबाटै परीक्षा दिन पाउने व्यवस्था गर्न माग गरेका थिए ।

सरकारले बलात्कारपछि निधन भएकी बाराकी पूजा साहको परिवारलाई उचित क्षतिपूर्ति दिन र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । क्षतिपूर्ति के कसरी प्रदान गर्ने हो त्यसका लागि आवश्यक व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको कानुन मन्त्री आचार्यले जानकारी दिनुभयो । सरकारले पीडित परिवारलाई सहानुभूतिसमेत प्रदान गरेको छ ।

सरकारले आगामी दिनमा महिला हिंसाका घटना दोहोरिन नदिनका लागि प्रभावकारी अनुगमन तथा कानुन कार्यान्वयन गराउन आवश्यक पहल गर्ने र दोषीमाथि कडा कारवाही गर्ने स्पष्ट पारेको छ ।

यस्तै, केही दिनअघि धादिङमा विषाक्त रोटी खाएर मृत्युवरण गर्न बाध्य भएका स्थानीयलाई उचित क्षतिपूर्तिका लागि सरकारले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।