– सुशील नेपाल
पाल्पा २९ फागुन । बसन्त ऋतुको आगमन संगसंगै जिल्लाको भीर पखेरा, जंगलहरुमा फुल्ने लालिगुराँस दिन प्रतिदिन लोप हुँदै गएको छ ।
जिल्लाको २० भन्दा बढी गाँउ विकास समितिभित्र सामुदायिक वन र निजी वन जंगलमा फुल्ने गुराँसका बोटलाई दाउराका निम्ति प्रयोग हुने क्रम बढेसंगै लालिगुराँस लोप हुँदै गएको हो ।
गुराँसको दाउरा प्रयोग गर्दा अन्य प्रजातीको तुलनामा राप र ताप गुराँसको कोइलामा बढी नै हुने र अर्कोतर्फ रुखको हाँगाबाट कृषि औजारका विड वलियो हुने भएको कारण यसलाई संरक्षण भन्दा फणानी बढेको खस्यौली गाविसका स्थानिय बासिन्दा रण बहादुर नेपालीले बताए ।
राष्ट्रिय फुलको रुपमा महत्व बोकेपनी यसको संरक्षण, फुलको उपयोगिताको बारेमा जिल्ला वन कार्यालय, वन उपभोक्ता महासंघ, संघसंस्थाले जनचेतनाका कार्यक्रम नगरेका कारण अभियानका रुपमा कटानी भएको मित्याल गाविसका स्थानिय बासिन्दा हेम बहादुर रानाले बताए ।
तानसेनको श्रीनगरका सामुदायिक वनमा समेत प्रर्याप्त मात्रामा पाइने लालिगुराँस जथाभावी टिप्ने र फाल्ने गरेको पाइन्छ । केहि बर्ष अघिसम्म रातै हुने श्रीनगर डाँडाँमा आजभोलि त्यो कमै देख्न पाइन्छ ।
रुप्से, कसेनी, झडेवा, भैरवस्थान, खस्यौली, मित्याल, झिरुवास जस्ता ३० वटा भन्दा बढी निजी तथा सामुदायिक वनमा लालिगुराँस पाइने गर्दछ । यसलाई पेय पदार्थ र औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
जिल्ला वन कार्यालय, वन उपभोक्ता महासंघ हाल सम्म सालको रुख मात्र संरक्षण गर्ने अभियान सञ्चालन गरेका कारण यो अवस्थामा आइपुगेको स्थानिय बासिन्दाहरुले आरोप लगाएका छन् ।
गुराँसको फुलबाट वाइन, जुसजस्ता पेयपदार्थ निर्माण गरी पर्वत जिल्लाका महिलाहरुले राम्रो आम्दानी गरेर आत्मनिर्भर भएको सुनिन्छ । तर यहाँ फुल त्यसै खेरा गएको भने रुख ढालेर दाउरा बनाएको पाइन्छ ।
राम्रो कामको थालनी जसले गरेपनि हुन्छ यहाँ । त्यस विषयमा कुनै निकायले ध्यान नदिएका कारण बोटै हराउन लागेको छहरा गाविसकी महिला अगुवा शान्ती रायमाझीले बताईन् । यदी यसको महत्व बुझेर संरक्षणतर्फ लाग्ने हो राम्रो हुने देखिन्छ । उनी भन्छिन् ।
















प्रतिक्रिया