धादिङ, २९ फागुन । धादिङमा प्रतिबन्धित विषादीको खुलेयाम विक्री हुँदा तीन दिन अगाडी ६ जनाले ज्यान गुमाएको अनुसन्धानमा खुलेको छ ।
६ जनाको मृत्यु भएपछि सदरमुकाम धादिङबेंसीमा जिल्ला विषादी व्यवस्थापन समन्वय समितिले गरेको अनुगमनमा खाद्यान्न पसलमा खुलेआम रुपमा विषादी बिक्री भइरहेको पाइएको हो ।
जिल्ला कृषि विकास कार्यालय प्रमुखको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, जिल्ला विषादी निरीक्षक माधव भट्टलगायतको टोलीले सदरमुकामका विषादी पसल र खाद्यान्न पसलमा अनुगमन गर्दा सल्फरमेथ्रिन, यम्ल्पोरथ्रिन बेगन, जिङ्क फस्फाइट, ब्रोमाड्रियोलियन मुसानाशक लगायतका घातक विषादी फेला परेको विषादी निरीक्षक माधव भट्टले जानकारी दिनुभयो ।
खाद्यान्न पसलमा झिङ्गा, लामखुट्टे, साङ्ला, मुसा मार्न प्रयोग गरिने विषादी खानेकुरासँगै बिक्री गरिरहेको फेला परेपछि केही विषादी बरामद गरिएको छ ।
पसलेले ग्राहकले विषादी खोजेको भएर राखेको, अरुले पनि राखेको भएर राखेको वा राख्न पाइन्छ भनेर राखेको भन्दै खुलेआम घातक मानिएको रातो लेबल भएका विषादीहरु खाद्यान्न पसलमा समेत भेटिएको थियो ।
अनुगमनका क्रममा भेटिएका केही विषादी बरामद गरिएको भए पनि घातक विषादी भेटेका पसलमा समेत सचेत गराएर छाडिएको भट्टले बताउनुभयो ।
तालिम लिएर मात्र विषादी बिक्री गर्नुपर्ने, इजाजत लिएर मात्र विषादी कारोबार गर्नुपर्ने तथा मापदण्ड पूरा गरेर विषादी पसल सञ्चालन गर्नुपर्नेमा सदरमुकामका पसलमा सबै किसिमको मापदण्ड विपरीत विषादी बिक्री भइरहेको भेटिएको हो ।















प्रतिक्रिया