– यज्ञप्रसाद सापकोटा
बर्दिया, २८ फागुन । बर्दियाको महम्मदपुर गाविसलाई विहीवार खुल्ला दिशा मुक्त घोषणा गरिएको छ ।
आगामी बैशाख १ गते खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखेको बर्दिया जिल्लाले १८औ गाविसको रुपमा महम्मदपुर गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेको हो ।
विहीवार एक कार्यक्रमका विच महम्मदपुर गाविस औपचारिक रुपमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको हो ।
गाविसका सम्पुर्ण घरधुरीमा शौचालय निर्माण भएपछि यो गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले जनाएको छ ।
गाविसमा एक हजार ८ सय ३३ घरधुरी रहेका छन् । अधिकांश मधेसी समुदायको बसोबास रहेको यस गाविसलाई बर्दिया जिल्लाको पुर्ण सरसफाई अभियानमा चुनौतीको रुपमा लिने गरिएको थियो ।
घोषणा कार्यक्रममा गाविसका सम्पुर्ण वडा बाट सरसफाईको नारा सहित झाँकी जुलुस निकालिएको थियो । पुर्ण सरसफाईसम्बन्धी जनचेतना मुलक साँगितिक प्रस्तुती समेत गरिएको थियो ।
कार्यक्रममा बर्दिया क्षेत्र नं २ का सभासद् संजय गौतम र लिला राना उपस्थित हुनुभएको थियो ।
महम्मदपुर गाविसका सचिव तथा गाउँस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नारायण प्रसाद पराजुलीको अध्यक्षतामा भएको घोषणा समारोहमा प्रमुख जिल्ला अधिकारी नरहरी बराल, स्थानीय विकास अधिकारी तथा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति अध्यक्ष डिल्लीराम सिग्देल, प्रहरी प्रमुख गोविन्द राम परियारको सहभागिता थियो ।
यस्तै, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष मिनराज शर्मा, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका प्रमुख अर्जुन कुमार बम, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल बर्दियाका अध्यक्ष टिका सम्सेली लगाएत विभिन्न संघसंस्था, राजनीतिक दल, विद्यार्थी शिक्षकको उपस्थिती रहेको थियो ।
चैत महिना भित्र जिल्लाका सम्पुर्ण गाविस र नगरपालिकाहरुलाई खुल्ला दिशा मुक्तक्षेत्र घोषणा गरी बैशाख १ गते जिल्ला लाई नै खुल्ला दिशा मु्क्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखेको छ ।
हाल बर्दिया जिल्लाका २ ओटा गाविस र ४ ओटा नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने तयारीमा रहेका छन् ।
















प्रतिक्रिया