काठमाडौँ, २८ फागुन । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले विपक्षी दलहरुलाई सहमतिको नाममा धेरै समय पर्खन नसकिने निष्कर्ष निकालेका छन् ।
विहीवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस र एमालेका शीर्ष नेताबीच झण्डै अढाई घण्टा भएको वार्तामा संविधान निर्माणको काम अलपत्र परेको भन्दै विपक्षी दलहरु वार्तामा नआए धेरै समय पर्खन नसकिने निष्कर्ष निकालेका हुन् ।
दुई दलका शिर्ष नेताको छलफलमा एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चासँग संविधान निर्माणका विषयमा चाँडै निर्णायक र परिणाममुखी वार्ता गर्ने निष्कर्ष पनि निकालेको छ ।
यसअघि संविधानका विवादित विषयमा ती दुई दलले अघि सारेका नौ बुँदे प्रस्ताव र गत माघ ५ गते विपक्षीसहित भएको छलफलको विन्दुबाट सहमतिको प्रयास खोज्ने समझदारी भएको एमालेका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
उहाँले दुई पार्टीबीचको सहयात्रालाई सबल र सुदृढ बनाउँदामात्र संविधान बन्न सक्ने भएकाले आफूहरुको प्रस्तावमा अन्य दलहरुलाई सहमतिमा ल्याउने प्रयास गर्नुपर्नेमा दुई दलको समान मत रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले वार्ता र संवादलाई सघन बनाई नयाँ साझा अवधारणा बनाउन शान्ति प्रक्रियाका सहभागी दलहरुलाई समेट्न आजै वा भोलिसम्ममा ३० दलीय मोर्चासँग संयुक्त वार्ता गरिने जानकारी दिनुभयो ।















प्रतिक्रिया