
गोरखा, २७ फागुन । एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराई प्रमुख अतिथि नबनाएको भन्दै गोरखामा एमाओवादी कार्यकर्ताहरुले स्थानीय विकास अधिकारी (एलडिओ)माथि आक्रमण गरेका छन् ।
बिहीबारका लागि आह्वान गरिएको जिल्ला परिषद बैठकमा प्रमुख अतिथिका रुपमा भट्टराईलाई औपचारिक निम्ता नपाएको भन्दै एमाओवादीका नेता तथा कार्यकर्ताले एलडिओ प्रेमराज गिरीमाथि कार्यालयमै अपरान्ह सबा तीन बजेतिर आक्रमण गरेका हुन्। एमाओवादीको आक्रमणपछि एलडिओ गिरीले भागेर ज्यान बचाएका छन् ।
आक्रमण गर्न थालेपछि म भागेर गोप्य कोठामा गएँ । त्यहाँ चुक्कुल लगाएर बसेपनि बाहिरबाट फोड्ने कोसिस गरेका थिए, तर प्रहरीलाई बेलैमा खबर गरेका कारण मेरो ज्यान बच्यो । एलडिओ गिरीले दैनिक नेपाललाई भने ।
एमाओवादीका गोरखाका अध्यक्ष लेखबहादुर थापाको नेतृत्वमा उपाध्यक्ष विष्णु भट्ट र हितमान सुर्खेती लगायत दर्जनभन्दा बढी नेता कार्यकर्ताहरुबाट एलडिओमाथि आक्रमण भएको हो ।
गोरखाका निर्वाचित सभासद् एवं पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई नबोलाउन काँग्रेसले दबाब दिँदै आएको थियो । भट्टराईको सटट उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई बोलाउनुपर्ने काँग्रेसको अडान थियो । एमाओवादी भने जसरी पनि प्रमुख अतिथि बनाउनुपर्ने पक्षमा उभिएको थियो । सोही विवाद चलिरहकै बेला प्रमुख जिल्ला अधिकारीमाथि आक्रमण भएको हो ।
आक्रमणको घटनापछि गोरखामा तनाव सिर्जना भएको छ । सोही विषयलाई लिएर कार्यालय प्रमुख तथा सुरक्षा अधिकारीहरुको आकस्मिक बैठक बोलाइएको छ ।















प्रतिक्रिया