३ कार्तिक २०८३, मंगलबार

बाबुको काजकिरिया गर्दै छोरी !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखाबजार, २७ फागुन । गोरखा नगरपालिका–३ स्थित ढाँडगाउँकी १८ वर्षीया चिजा बिकले बाबुको काजकिरिया गर्नुभएको छ ।

छोरासरह उहाँले आफ्ना बाबु ५४ वर्षीय बोधबहादुरको काजकिरिया गर्नुभएको हो । बिगत छ दिनदेखि उहाँ काजकिरियामा बस्दै आउनुभएको छ । “छातीको रोगले बुबालाई अल्पायुमै लग्यो”–चिजाले भन्नुभयो–“बाबु–आमाको मृत्युपछि किरिया गर्न छोरै चाहिन्छ भन्ने परम्परा तोडेकी हुँ ।”
आर्थिक अवस्था कमजोर भएकाले बोधबहादुरले समयमै उपचार गर्न पाएका थिएनन् । साथै बाबुको मृत्युपछि घाटमा दाहसंस्कारका लागि चिजा पनि जानुभएको थियो । “साँझमा बुबाको शव लिएर घाटमा गयौँ”–चिजाले भन्नुभयो–“दागबत्ती मैले नै दिएँ ।”

चिजाका दाजुभाइ छैनन् । “मेरा दाजुभाइ छैनन्”–चिजाले भन्नुभयो–“छोरा मात्रै होइन, छोरी पनि सन्तान हो ।” बाबुको अन्तिम संस्कारका गर्ने अनुमति चिजाले परिवारसँग र आफन्तसँग लिनुभएको थियो ।

समाजको अन्धविश्वास अन्त्य गर्न र बाबुको अन्तिम संस्कारका लागि आफूले काजकिरिया गरेको उहाँको भनाइ छ । काजकिरियाका क्रममा आवश्यक परेको सहयोग परिवार, छिमेकी र आफन्तहरुले गर्दै आएका छन् । १३औँ दिनमा काजकिरिया सकिने परिवारका एक सदस्यले जनाउनुभयो । रासस