ललितपुर, २८ फागुन । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले आगामी फागुन ३० देखि चैत २ गतेसम्म ललितपुर जिल्लामा हात्तीपाईले रोग विरुद्धको औषधी बितरण गर्ने भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ जनस्वास्थ प्रशासक केदार पराजुलीले सबै पक्षले सहयोग गरेमा कार्यक्रम सफल हुने बिश्वास ब्यक्त गरे ।
७० भन्दा बढी देशमा बसोबास गर्ने एक अरब चालिस करोड मानिसहरु यो रोगबाट संक्रमित रहेका छन् । उनले हात्तीपाईले रोग विरुद्धको औषधी सामान्य औषधी भएको बताएका छन् ।
दुईवर्ष मुनीका वालवालिका, गर्भवती महिला, सात दिनको सुत्केरी र दिर्घ रोगीहरुले यस औषधीको सेवन गर्न नहुने उनले बताए ।
उनले भने-‘ती बाहेक अरु सबै मानिसहरुलाई औषधी सेवन गर्दा हातीपाइले रोग लाग्नबाट बचाउन सकिन्छ ।’ जनस्वास्थ्य कार्यालयमा कार्यरत लेखनाथ पन्थीले विश्वका मानिसहरु अपाङ्गता हुने दोस्रो कारण हातीपाइले भएको बताए ।
उनले हात्ति पाइले रोगको नियन्त्रणका लागि यो अभियानलाई प्रचारप्रसार गरेर अभियानमा सहकार्य गर्न पत्रकारहरुलाई आग्रहसमेत गरे ।
जिल्लाको जम्मा जनसङ्ख्या चार लाख ६४ हजार रहेको छ । त्यस मध्ये लक्षित समुहलाई औषधी बितरणका लागि दुई हजार पाँच सय जना स्वास्थ्य स्वयम सेविका परिचालन हुनेछन् ।
उक्त कार्यका लागि दुई सय २५ जना स्वास्थ्य कार्यकर्ता खटिने कार्यालयले जनाएको छ । औषधी वितरणका लागि तोकिएका केन्द्रहरुमा विहान १० बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरिएको पनि जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
पत्रकारहरुको सामाजिक जिम्मेवारी हुने भएको हुँदा प्रचारप्रसारमा पूर्ण सहयोग गर्दै जिल्ला जनस्वास्थ्य कार्यालयसँग सहकार्य गर्ने प्रेस चौतारी ललितपुरका अध्यक्ष रमेशप्रसाद तिमल्सिनाले बताए ।















प्रतिक्रिया