३ कार्तिक २०८३, मंगलबार

मंगला क्याम्पसमा लगाईएको महायज्ञबाट १ करोड ६९ लाख संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

a

लमजुङ, २६ फागुन । दक्षिण पश्चिम लमजुङको सोतिपसल स्थित मंगला क्याम्पसमा लगाईएको श्रीमद् भागवत ज्ञान महायज्ञमा एक करोड ६९ लाख भन्दा बढी दान संकलन भएको छ ।

गत फागुन १९ गते मंगलबार देखि सप्ताहव्यापी रुपमा लगाईएको महायज्ञमा जग्गा र नगददान सहित गरेर त्यतिका दान संकलना भएको हो ।

महायज्ञमा जग्गा बाहेक नगद मात्र एक करोड १४ लाख ५८ हजार तिन सय ९९ रुपैयाँ संकलन भएको छ । त्यस्तै ५५ लाख रुपैयाँ बराबरको जग्गादान भएको क्याम्पसका प्राध्यापक उदयराज पौडेलले जानकारी दिनुभयो ।

महायज्ञमा सबै भन्दा बढी नगद दान क्याम्पस संचालक समितिका अध्यक्ष नवराज न्यौपानेका श्रीमति रमा न्यौपानेले तिन लाख ६१ हजार रुपैयाँ दान गर्नुभएको छ ।

त्यस्तै सबै भन्दा बढी मुल्यको जग्गादान तान्द्राङ टक्सार गाविस वडा नम्बर ९ का खडानन्द पराजुलीले १८ लाख मुल्य बराबरको जग्गादान गर्नुभएको छ ।

महायज्ञको अन्तिम दिन मंगलबार आठ जनाले तुलादान गरेका छन् । आफ्नो शरिरको तौल बराबर सिक्का रकम दानबाट मात्र ८४ हजार ६ सय रुपैयाँ प्राप्त भएको क्याम्पसले जनाएको छ ।

क्याम्पसका सबै प्राध्यापकले ५० हजार रुपैयाँ भन्दा बढी दान दिएका छन् । त्यस्तै मंगला उमाविका शिक्षकहरुले पनि उल्लेख्य दान प्रदान गरेका छन् । महायज्ञमा स्थानिय समाजसेवी, राजनितिक दलका नेता तथा कार्यकर्ता, अभिभावक, शिक्षक लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

महायज्ञमा दान दिनेलाई विशेष सम्मानका साथै कदरपत्र, बाजागाजाका साथ परिक्रमा, क्याम्पस हातामा शिलालेखमा राख्ने लगायतका सम्मान प्रदान गरिएको महायज्ञ मुल समारोह समितिका संयोजक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले महायज्ञ संचालनको खर्च एवं क्याम्पसको शौक्षिक एवं भौतिक विकासका योजना केही दिन भित्रै पत्रकार भेटघाट मार्फत सार्वजनिक गर्ने समेत बताउनुभएको छ ।

महायज्ञमा भागवत भाष्कर गुरुदेव पंडित कमलनयन गौतमले पुराण बाचन गर्नुभएको थियो । महायज्ञको समापनको अवसरमा पंडित गौतमलाई बाजा गाजाका साथ विदाई गरिएको छ ।

सो अवसरमा बोल्दै लमजुङ क्षेत्र नम्बर २ का सभाषद चन्द्रबहादुर कुँवरले क्याम्पसको शौक्षिक तथा भौतिक विकासमा मन, बचन र कर्मले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

क्याम्पस संचालक समितिका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्याम्पस प्रमुख विष्णुहरी बास्तोलाले गर्नुभएको थियो ।

रिस्ती उपत्यकामा शौक्षिक नेतृत्व गरिरहेको मंगला उमावि र आसपासका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई गाउँ घरमै बसेर उच्च शिक्षाको अवसर प्रदान गर्न महायज्ञ लगाईएको हो ।

मंगला क्याम्पसमा अहिले लमजुङको सुर्यपाल, तान्द्राङ टक्सार, जिता, समिभञ्ज्याङ, रम्घा, तनहुँको रिस्ती, क्यामिन लगायतका गाविसबाट विद्यार्थी अध्ययनका लागी जाने गरेका छन् ।