३ कार्तिक २०८३, मंगलबार

विजय गच्छदारले प्रधानमन्त्रीलाई भेटेर भने–‘हामी एमाओवादी मोर्चा छाड्न तयार छौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-bijay

काठमाडौं, २६ फागुन । मधेसी जनअधिकार फोरम, नेपाल लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले प्रधानमन्त्री सुशील कोइरालासंग भेटवार्ता गरेका छन् ।

अध्यक्ष गच्छदारले आज विहान प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्रीलाई भेटेका हुन् । भेटवार्तामा प्रधानमन्त्री कोइराला र अध्यक्ष गच्छदारबीच १ घण्टा लामो वार्ता भएको छ ।

वार्तामा गच्छदारले प्रधानमन्त्री कोइरालालाई आफूहरु एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चा छाड्ने संकेत दिएका छन् । सरकारले आफ्नो माग पूरा गरे मोर्चा छाड्न सकिने बताएको वालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार गच्छेदारले आफ्नो माग प्रधानमन्त्रीसंग खुलाएका छन् । प्रधानमन्त्रीले माग पूरा गर्न प्रयास गरिने प्रतिबद्धता जनाएका थिए । यदी गच्छदारको माग पूरा भए उनी मोर्चा छाडेर सरकारमा समेत सहभागी हुन सक्ने छन् ।

यसअघि पनि एमाओवादी नेतृत्वको मोर्चामा गच्छदार अरु नेता भन्दा सरकारप्रति लचिलो देखिदै आएका छन् । मोर्चाका केही नेताले गच्छेदारलाई मोर्चाको एजेण्डा वितरित लागेको आरोप समेत लगाएका थिए ।

तर, वाहिर हेर्दा पनि मोर्चाका अन्य नेता भन्दा गच्छदार लचिलो, नरम देखिन्छन् । भेटवार्तामा प्रधानमन्त्री कोइरालाले ३० दलिय मोर्चालाई वार्तामा ल्याएर संविधान निर्माणको कार्यमा भुमिका खेल्न गच्छेदारलाई आग्रह गरेका छन् ।

भेटवार्तामा वार्ता दलहरुबीचको सम्वाद, संविधान निर्माण, संविधानसभाको बैठक लगायत मुलुकका समसामयिक राजनीतिक बिषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले बताए ।

गच्छदारले प्रधानमन्त्रीसंग भेटवार्ता गरिसकेपछि वार्ता निकै सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री कोइरालाले एमाओवादीका पुष्पकमल दाहाल प्रचण्डलाई मोर्चालाई आफ्नै नेतृत्वमा वार्तामा ल्याउन आव्हान समेत गरेका छन् ।

प्रधानमन्त्री कोइरालाले जनताले शान्ति, स्थायित्व, लोकतान्त्रिक संविधान र विकासको चाहना राखेको हुनाले आपसी वार्ता, संवाद, सहकार्य, एकता, मेलमिलापका माध्यमबाट संविधान निर्माणसहित मुलुकका समस्याको समाधानमा सहमति कायम गर्न सबै राजनीतिक दललाई निरन्तर आग्रह गर्दै आउनुभएको छ ।